सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोग सम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । उक्त रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो ।

तर, सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका हुन् । अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै युवराज सफलले सोमबार रिट दायर गरेका थिए ।

नागरिकता दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने रायसहित प्रतिवेदन पेश गरेको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो । अधिवक्ता सफलले नागरिकता दुरुपयोगको उजुरीमा लामिछानेलाई गैरकानुनी रुपमा उन्मुक्ति दिइएको दाबी गरेका छन् ।

नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो । अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर, पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको हो ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १५:५४