सूचनाको शक्ति - The Power Of Information

        

यात्रा संस्मरण

शक्ति–राष्ट्रको चासो बढेको कोराला नाका पुग्दा…

दायाँबायाँ समथर फाँट र थुम्का देखिन्छन् । बस्ती पुग्न छोसेर गाउँ नै पुग्नुपर्छ । छोसेर गाउँ र वरपरका भूभाग अलौकिक छन् । हावाको वेग र हिमपातले चट्टानहरूमा अनेकौँ स्वरूप र आकार देखिँदा अचम्म लाग्छ ।

२०७९ साल सकिन लाग्दा गण्डकी प्रदेशको उत्तरी जिल्ला मुस्ताङका पाँचवटा गाउँपालिकासहित नेपाल–चीन सिमाना कोराला नाकासम्म पुग्ने अवसर प्राप्त भयो । महिला पर्यटन व्यवसायीहरूको संस्था टेवानले आयोजना गरेका विभिन्न कार्यक्रममा सञ्चारकर्मी, सरकारी अधिकारी, मुस्ताङका जनप्रतिनिधि, इलामबाट आएका दुईजनासहित पोखराका महिला व्यवसायी, स्थानीय व्यवसायीसँग भेटघाट र विविध विषयमा छलफल, विचार–विमर्श गर्ने अवसर मिलेको हो ।

यसभन्दा पहिला दुईपटक भ्रमण गरिसकेको मुस्ताङ जिल्ला पुग्दा जहिले पनि रोमाञ्चित हुने गरेको छु । तीन जना साथीसँग मनाङबाट थोराङपास हुँदै मुक्तिनाथ भएर पदयात्रा गर्दाको त्यो सुखद तथा साहसिक क्षण अझै पनि स्मरणयोग्य छ । त्यसपछि मुक्तिनाथ दर्शन गर्न हवाईजहाजबाट जोमसोम ओर्लेर ११ बजेको समयमा चल्ने हावाको वेगसँगै पैदलै एक्लेभट्टी हुँदै झारकोट अनि रानीपौवा पुग्दाको अपूर्व क्षण पनि बिर्सन सकिँदैन । यसपटक पैदल र जहाज नभईकन जिपमा बसेर नेपाल–चीन सीमा पुग्नासाथ हावाका साथ हल्का हिमपात हुन थाल्यो ।

पारि सीमामा सुरक्षाकर्मी देखिन थाले, हाम्रोतिर भने हामीसँगैका साथीमात्र ! पूर्व–पश्चिम आँखा दौडाउँदा काँडेतार लगाएको देखियो । कति लामो बार लगाइएको छ भन्ने अनुमान गर्न मुस्किल पर्यो । सिमानाबाट १४ किलोमिटर दक्षिण नेचुङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी छ । दायाँबायाँ समथर फाँट र थुम्का देखिन्छन् । बस्ती पुग्न छोसेर गाउँ नै पुग्नुपर्छ । छोसेर गाउँ र वरपरका भूभाग अलौकिक छन् । हावाको वेगले हो वा हिमपातले चट्टानहरूमा अनेकौँ स्वरूप र आकार देखिँदा अचम्म लाग्छ ।

यही छोसेरमा त्यस्तै चट्टानमा ७ तला बराबर उचाइमा १०८ कोठा रहेको गुफा अवलोकन गर्न सकिन्छ । कुनै समय युद्ध हुँदा लडाकुहरू बस्ने, कुनै बेला लामाहरूविरुद्ध आक्रमण हुँदा लुक्ने ठाउँका रूपमा रहेको यो गुफालाई थप आकर्षक बनाउन सकिने थुप्रै उपाय छन् । त्यसबाहेक छोसेरमा दुईवटा ठूला गुम्बा र विभिन्न पुराना सामग्रीसहितको हालसालै निर्मित सानो संग्रहालय रहेछ । अहिले गण्डकी प्रदेशमा सबैभन्दा बढी उठान भएको विषय कोराला नाका हो । कोराला नाका छिट्टै खुल्नुपर्छ ।

पूर्वाधार निर्माण छिट्टै हुनुपर्छ, सुक्खा बन्दरगाह निर्माण गर्न ढिला गर्नुहुँदैन भन्ने आवाज उठिरहेको छ । राजनीतिकर्मी, व्यवसायिक संघसंस्था, प्रदेश सरकार र सांसदका भाषणमा कोराला नाका छिट्टै खुल्नुपर्छ भन्ने वाक्य छुटेको छैन । झण्डै १५ हजार ५०० फिट उचाइमा अवस्थित यो नाकामा चिनियाँ भूभागमा बनेका ठूला भवन, त्यसपछिको भागमा बनेका बस्ने ठाउँ, गाडी राख्ने स्थान देखिन्छन् । नेपाली भूभागमा पठार भूमिमात्र देखिँदा त्यहाँ पुग्नेहरूले मात्र हैन, नपुग्ग्नेहरूले पनि छिट्टै पूर्वाधार निर्माण गरी नाका खुलाउनुपर्छ भन्ने धारणा अतिशयोक्तिपूर्ण हैन ।

तर, परिस्थिति सहज नभएको अनुभूति त्यहाँ पुगेकाहरूले गर्न सक्छन् । दुई देशबीचको नाका खोल्नु भनेको देशहरूबीच आवतजावतमा सहजता ल्याउनु, व्यापार बढाउनु, आफ्नो देशका साथै अन्य मुलुकका नागरिकलाई पर्यटकका रूपमा आआफ्ना देशका विभिन्न ठाउँ घुमाउन सजिलो होस् भन्नाका लागि हो । कोराला नाकालाई व्यवस्थित गरेपछि त्यसबाट दुवै देशका नागरिकले लाभ लिने वातावरण सिर्जना गर्नुपर्छ । केही वर्ष अगाडिसम्म चीन सरकारले कोराला नाकाबाट झण्डै ३० किलोमिटर टाढाको छुवासेनमा वर्षमा दुईपटक व्यापार मेला लगाउँथ्यो ।

कुनै अवरोध थिएन । नेपाली व्यापारी आफ्ना उत्पादन लिएर जान्थे र उताबाट चीनमा उत्पादित सामग्री लिएर फर्किन्थे । यो नियमित प्रक्रिया थियो । २०७२ सालको भूकम्प र भारतीय नाकाबन्दीको समयमा यो नाकाबाट उच्चतम व्यापारिक गतिविधि भएका थिए । त्यसपछिका दिनहरूमा विविध कारण व्यापार मेला लाग्न सकेको छैन । कोराला नाका खोल्नुपर्यो भन्ने विचार अत्यन्तै भावनात्मक छ, तर यथार्थमा यो अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण देखिएको छ । सिमाना राजनीतिक र कूटनीतिक विषयसँग जोडिन्छ ।

सीमा नाकाले अर्थतन्त्र र लगानीसँग निकटता राख्छ । सीमा नाका दुवै देशका बासिन्दाको जीवनयापन र उन्नतिसँग पनि गाँसिएको हुन्छ । नेपालका तर्फबाट समर र ऐनाभीर कटान गरेर जोमसोमसम्म सहज पहुँच हुनेगरी चौडा बाटो बनाइएको छ । नदी–खोलामा पुल बनेका छन्, निर्माण चरणमा छन् । विद्युत् लाइन कोराला नाकासम्म तानिएको छ । सुक्खा बन्दरगाह बनाउन प्राविधिक रूपमा निरीक्षणसहित योजना तयार हुने क्रममा छ । यी सबै कोराला नाका खुलाउन चाहिने पूर्वाधारका विषयवस्तु भए ।

त्यो भन्दा अगाडि दुई देशबीच व्यापारको मात्रा कति हुनसक्ने, नेपालका तर्फबाट निर्यात गरिने वस्तुको आकलन र दिगोपन, नेपालको पर्यटनलाई कति सकारात्मक प्रभाव पार्नसक्छ भन्ने विषयलाई नजरअन्दाज गर्न मिल्दैन । मुस्ताङ जिल्लाको जनसंख्या पातलिँदै गएको छ । जनशक्ति नहुँदा यसले सेवा प्रवाहमा कस्तो असर पार्छ, जनशक्ति कसरी पूर्ति गर्ने, दुवै देशका सुरक्षा संवेदनशीलताका विषय, नेपालतर्फ रहेका ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्वका सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका विषयबारे तीनै तहका सरकारका संयन्त्रले गम्भीर चासो र अध्ययन गर्नुपर्ने अवस्था छ ।

झण्डै १५ हजार ५०० फिट उचाइमा रहेको कोराला नाका खुलाउन हावापानी, प्रतिकूल मौसमको ख्याल राख्नैपर्छ । सबैभन्दा महत्त्वपूर्ण त चीन सरकारले त्यस क्षेत्रप्रति देखाउने संवेदनशीलताले नै हो । विगतमा त्यही क्षेत्रमा खम्पा विद्रोहीहरूले मजबुत क्याम्प बसालेर चीनविरुद्ध गतिविधि गरेका थिए । त्यही नाकाबाट तिब्बतीहरू लुकीछिपी आउजाउ गर्थे । प्रायः बौद्ध धर्मावलम्बी भएको उपल्लो मुस्ताङवासी उपल्लो मुस्ताङका घरहरूमा दलाइ लामाको तस्बिर राखी उनलाई धर्मगुरुका रूपमा पुज्ने गर्छन् ।

दलाइ लामा, जसलाई चीन सरकारले स्वतन्त्र तिब्बत आन्दोलन सञ्चालन गर्ने विद्रोही नेताको उपमा दिइरहेको छ, उनै दलाइ लामाका तस्बिर घरघरमा झुण्ड्याउँदा चिनियाँहरूले असहिष्णु व्यवहार गरिरहेको उपल्लो मुस्ताङवासी बताउँछन् । त्यसैले स्थानीय बासिन्दान कोराला नाका तत्काल खुलिहाल्ला भन्नेमा विश्वस्त छैनन् । यद्यपि चीनले आफ्नो भूमिका पूर्वाधार निर्माण गरेर नेपाललाई सकारात्मक तर संवेदनशीलताका साथ कूटनीतिक सन्देश दिन खोजेको देखिन्छ । तर पनि नेपालका तर्फबाट कोरालाप्रति कुनै संवेदनशीलता देखाइएको पाइँदैन । कोराला हेरौँ न त भन्नेहरूको जमात पुग्दाबाहेक त्यहाँ नेपालका तर्फबाट कुनै गतिविधि हुँदैन ।

मौन समथर भूभागलाई कसरी सुगम बनाउने भन्ने चुनौती हामीसँग रहेकै छ । अहिले केही गर्न नसकिए पनि सीमा स्तम्भ वरपर एउटा ठूलो बोर्ड राख्न सक्छौँ । चिनियाँलाई स्वागत गर्ने सन्देशसहितको बोर्डले पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्नसक्छ । नेपाली भूमितर्फ कोरालाको उचाइसहित भोलि निर्माण गरिने पूर्वाधारको बोर्ड राख्न हामी सरकारको ध्यानाकर्षण गराउँछौँ । सिमानामा फोटो खिचाउनकै लागि पनि २४ नम्बरको सीमा स्तम्भबाहेक सबै पृष्ठभूमि चीनतर्फको मात्र रहनु शोभनीय हैन । यो विषयमा प्रदेश सरकारको ध्यान पुगोस् । केन्द्र सरकारलाई झक्झक्याएर नेपालमै छौँ भन्ने अनुभूति गराउने सूचना बोर्ड अविलम्ब राखियोस् । बोर्डले पनि सानो उपस्थिति अनुभूति गराउने छ ।

मुस्ताङ आफैँमा सांस्कृतिक, पुरातात्त्विक महत्त्व भएको ऐतिहासिक जिल्ला हो । घाँसाबाट उत्तरतर्फ जाँदै गर्दा छोसेरसम्म पुग्दा अनगिन्ति गुम्बा देखिन्छन् । बाटोमा नपरेका गाउँहरूमा पनि त्यत्तिकै संख्यामा गुम्बा भएको स्थानीय बताउँछन् । र, अहिले यी तमाम् गुम्बाको संरक्षण सबैभन्दा चुनौतीपूर्ण बनेको छ । गुम्बाहरूमा पुरातन बौद्ध ग्रन्थ, बौद्धकालीन मूर्तिसहित अन्य सामग्री रहेको पाइन्छ । गुम्बाहरूको स्याहार सम्भार लामा र बौद्ध दर्शन अध्ययन गर्न चाहनेहरूबाट भइरहेको छ । गाउँमा रहेका प्रत्येक परिवारले आफ्ना एकजना सदस्यलाई गुम्बामा पठाउँथे । तब त गुम्बा जीवन्त थियो, आकर्षणको केन्द्र थियो ।

अहिले परिस्थिति फेरिएको छ । मुस्ताङको जनसंख्या घट्ने क्रममा छ । भएकाहरू पनि थातथलो छाडेर सुगम क्षेत्रतर्फ बसाइँसराइ गर्न थालेका छन् । त्यसैले गुम्बामा परिवारको सदस्य दिने परम्परा अन्त्यजस्तै भएको छ । गुम्बामा लामाहरूको संख्या घटेको छ । त्यसैले गुम्बाहरू सुनसान देखिन्छन् । संरक्षण र मर्मत सम्भार हुन नसकेको देखिन्छ । अर्कातर्फ गुम्बामा बस्नेहरूले पनि आधुनिक शिक्षाको चाहना राख्न थालेको पाइएको छ । आधुनिक संसारसँग जोडिने उनीहरूको इच्छा देखिएको छ । त्यसकारण बाह्रगुड मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि र त्यस भेगका नागरिक बौद्ध दर्शन शिक्षाका लागि उच्च शिक्षा अध्ययन केन्द्र (क्याम्पसजस्तै) स्थापना गर्न तल्लिन देखिन्छन् ।

र, त्यसका लागि भवन बनाउन नेपालस्थित भारतीय दूतावासमार्फत सहयोगका लागि अनुरोध गरिएकामा हालै स्वीकृत भई सहयोग गर्ने कुरा प्रकाशमा आइसकेको छ । यही विषयमा एक राजनीतिक दलका अध्यक्षले आपत्ति जनाउँदै उपल्लो मुस्ताङमा विश्वविद्यालय खोल्न दिएर अर्को मुलुकलाई चिढ्याएको भन्ने वक्तव्य दिएकामा उपल्लो मुस्ताङवासीले आपत्ति जनाएको पाइयो । उनीहरूले क्रोधित हुँदै आफूहरूलाई उच्च शिक्षाबाट वञ्चित गर्न अनावश्यक राजनीतीकरण गर्न खोजेको भन्दै विरोध गरे । मुस्ताङवासीहरू सो अध्ययन केन्द्र स्थापना तथा धरोहरका रूपमा रहेका गुम्बाहरूको संरक्षण हुनेमा भने आशावादी देखिए ।

पोखराबाट कोराला पुग्न १२–१३ घण्टा लाग्यो । पर्वतको कुश्माबाट कालीगण्डकीको तिरैतिर चैलेसम्म पुगिन्छ । त्यसपछि समर र ऐनाभीर (११८० फिट) पार गरेपछि घमी, घिलिङ हुँदै चराङ पुगिन्छ । चराङ दामोदर कुण्ड जाने केन्द्र हो । दामोदर कुण्ड नै कालीगण्डकीको उद्गमस्थल हो । तसर्थ चराङबाट २ दिन हिँडेर दामोदर कुण्ड पुगिने भएकाले चराङ भविष्यको व्यापारिक केन्द्र बन्ने देखिन्छ । अहिले बाटो खन्ने काम सुरुमात्र भएको छ । दुई दिन हिँडेर दामोदर कुण्ड र त्यहाँबाट पाँच दिनको पदयात्रा गरेर मनाङको फू पुग्ने मार्ग अहिले निकै चल्तीमा रहेको स्थानीय बताउँछन् । चराङमै प्रस्तावित हवाई अड्डाका लागि जग्गा छुट्याइएको छ । चराङपछि पुगिने ठाउँ लोमान्थाङ हो ।

अभेद्य किल्लाभित्रको बस्ती हो, लोमान्थाङ । १०८ कोठासहितको मुस्ताङे राजाको दरबार रहेको यो क्षेत्रको बाहिरी भागबाहेक भित्री भाग अवलोकन गर्न पाइएन । लोमान्थाङ दरबारभन्दा १२–१३ किलोमिटर पश्चिम विश्वकै अग्लो ठाउँमा रहेको राम्रो गल्फ खेल्ने मैदान बनाइएको छ । केही समयअघि सोही मैदानमा ३०–४० जना गल्फ खेल्नकै लागि आइपुगेको स्थानीयले जानकारी गराए । विश्वकै अग्लो ठाउँमा रहेको गल्फ कोर्सको प्रवद्र्धन गर्दा मुस्ताङको पर्यटनले गति लिनेछ । यसबाहेक त्यस समथर भूमिमा तलमाथि नदी वारिपारिका भूक्षेत्रमा जिप–मोटरसाइकल सफारी, घोडसवारी, साइकलमार्फत पर्यटकीय गतिविधि बढाउन प्रयास भइरहेको पाइयो ।

तल्लो मुस्ताङको तोरन्ल पर्व, उपल्लो मुस्ताङको यार्तुङ मेला, १२ वर्षे फ्वे ल्हो मेलालाई प्रवर्द्धन र व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्ने मनसुवा राखेको पनि पाइयो । मनाङपछि नेपालको सबैभन्दा कम जनसंख्या भएको जिल्ला हुनु आफैँमा चुनौतीपूर्ण देखियो । मुस्ताङलाई उपल्लो डोल्पासँग जोड्न जोमसोम–कागबेनी र घमीबाट बाटो निर्माण थालिएको सुन्दा अर्को महत्त्वपूर्ण उपलब्धि हुने निश्चित देखिन्छ । समग्रमा मुस्ताङ सुगम हुनेतर्फ अग्रसर छ । उन्नति र विकासक्रम अगाडि बढेको छ । तर, जोमसोमबाट हिँडेर मुक्तिनाथ पुग्दाको अनुभूति छुट्टै रोमाञ्चकारी छ । जोमसोमबाट मार्फा हुँदै टुकुचे, कोवाङ, फालापानी, लेते, घाँसा हुँदै पैदलयात्रामा पाइने रमाइलोपन मोटरबाट जाँदा नपाइने महसुस भयो ।

बाँदरजुङको भीरमा चार पाइला टेक्दै, घिस्रिँदै हिँड्ने समय अन्त्य भयो । यो केवल स्मृतिमा रहनेछ । जे भए पनि मुस्ताङ मुस्ताङ नै हो । यसको सांस्कृतिक महत्त्व र परम्परा जगेर्ना र कायम राख्न सबै सचेत हुन जरुरी छ । मुस्ताङको भौगोलिक स्वरूप आफैँमा विचित्र छ । सडक दायाँ–बायाँ जता हेरे पनि सुक्खा नांगा रंगीबिरंगी कलात्मक पहाड देखिन्छन् । भौगोलिक अध्ययन गर्ने हो भने पनि विभिन्न खालका पत्थर पाउन सकिन्छ कि भन्ने अनुमान गर्न सकिन्छ । उसो त मुक्तिनाथ मन्दिर क्षेत्रमा प्रज्वलित ज्वालालाई कुनै ज्वलनशील पदार्थको ग्यास भण्डार हो भन्ने अनुमान पहिलेदेखि नै भइरहेको छ । तर, औपचारिक उत्खनन र अध्ययन भएको छैन । निरन्तर बलिरहेकाले निकै मात्रामा ग्यास भएको अनुमान गर्न सकिन्छ ।

मुस्ताङमा युरेनियमको खानी रहेको समाचार सार्वजनिक भएको थियो । ठ्याक्कै कुन ठाउँमा हो भन्ने कुरा मुस्ताङवासीले भन्न सकेनन् । युरेनियमको खानी भएको क्षेत्रलाई थप खोजतलास गर्ने हो भने कति मात्रामा कस्तोस्तरको युरेनियम रहेछ भन्ने यकिन गर्न सकिएला । हामीसँग प्रविधि छैन भने उत्खननका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय अणुऊर्जा केन्द्रसँग प्राविधिक सहयोग लिएर उत्खनन गर्नु नेपालका लागि हितकर नै हुनेछ । युरेनियम आफैँमा संवेदनशील पदार्थ भएकाले आणविक शक्ति–राष्ट्रहरूले चासो दिइरहेका छन् । चासो दिए भन्दैमा चुपचाप बस्नु अवसरबाट वञ्चित भइरहनु हो ।

युरेनियमजस्तो महत्त्वपूर्ण वस्तुलाई विश्व शान्तिका लागि प्रयोगमा ल्याउन सकिन्छ । यसबाट नेपालले ठूलो आर्थिक लाभ लिनुपर्छ । अतः युरेनियमको अन्वेषण र उपयोगमा ढिलाइ गर्नु हुँदैन । राष्ट्रले यसतर्फ ध्यान देओस् । यसका अलावा पहिले पहिचान भएका, प्रयोगमा आएका नुन, तामा र फलाम खानी पुनः सञ्चालनलाई पनि राज्यले प्राथमिकतामा राख्न जरुरी छ । विशेषगरी म्याग्दी जिल्लाका रुमछाप, कुइने, गुर्जा, बुङ, बरङ्जा गाउँबाट तामा निकालेर भारततर्फ लगिएको इतिहास छ । तामा निकाल्न खप्पिस कालिगढ भइञ्जेल तामा निकाल्ने मात्र हैन, तामाका सिक्का बनाएको ऐतिहासिक दस्तावेज पाइन्छ । स्रोत भएर पनि उपयोग गर्न नसक्नु मुलुकका लागि दुर्भाग्य हो ।

चीर निद्रामा रहेको खानी विभागलाई. सक्रिय बनाउन सक्यौँ भने ठोस उपलब्धि हासिल हुने देखिन्छ । मुस्ताङमा पाइने भेडा–च्यांग्राबाट निकालिने भुवा–ऊन गुणस्तरीय रहेको र पस्मिनाका लागि अत्यन्तै गुणस्तरीय कच्चा पदार्थ भएको प्रमाणित भएकाले यसतर्फ सरकारहरूको ध्यान पुग्न जरुरी छ । आखिर समृद्धितर्फका यात्रा यस्तै गतिविधिले तय हुने हो । यतातर्फ जनप्रतिनिधिहरूको सक्रियता, पालिका, प्रदेश र केन्द्र सरकारहरूले सकारात्मक दृष्टिकोणसहित अगाडि बढ्ने जमर्को गर्नुपर्छ । अन्त्यमा, यसपटकको भ्रमणमा स्थानीय बासिन्दासँग छलफल गर्दा यस्तै चासो, चिन्ता र विचार अभिव्यक्त भएकाले यी कुरा उल्लेख गरेको हुँ । समग्रमा यो भ्रमणबाट धेरै आयाम र विषयवस्तुबारे सिक्ने अवसर प्राप्त भयो । यो सुखद र स्मरणीय क्षण हो । (आनन्दराज मुल्मी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं सामाजिक–आर्थिक अभियन्ता हुन् ।)

स्रोत : नेपालखबर
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १४:४७