सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘संक्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्नू’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।

‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौँ, मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’ मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि। १.१६ देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको छ । मन्त्रालयले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ ।

कोभिड–१९ महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढिरहेको छ । चैत २० गते मात्रै ७६ जनामा नयाँ सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या २२७ पुगेको छ ।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १३:४४