सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेको उमेदवारीविरुद्ध उजुरी

राष्ट्रिष्य स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको उमेदवारीविरुद्ध उजुरी परेको छ ।

आसन्न उपनिर्वाचनका लागि चितवन क्षेत्र नं.२ बाट उमेदवार बनेका लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले विरोधको निवेदन दिएका हुन् । नेपालको संविधानको धारा २९१ उल्लेख गर्दै पौडेलले लामिछाने प्रतिनिधिसभा सदस्यको उमेदवार हुन अयोग्य रहेको जिकिर गरेका छन् ।

उक्त धारामा विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले विदेशको स्थायी आवासीय अनुमतिपत्र त्याग गरेको तीन महिना नपुगी कुनै पदमा निर्वाचित वा मनोनीत हुन नमिल्ने व्यवस्था छ ।

सोही आधारमा पौडेलले लामिछानेको उमेदवारी खारेज गर्न माग गरेका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि हिजो उमेदवारी दर्ता गरिएको थियो । आज उमेदवारीविरुद्ध दाबी विरोध गर्न सकिने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १२:३१