सूचनाको शक्ति - The Power Of Information

        

वित्तीय प्रणालीमा हलचल

सुनमा लगानीकर्ताहरू आकर्षित, मूल्य अझै बढ्ला कि घट्ला ?

उच्च भाउका कारण नेपाली बजारमा कारोबार अहिले ‘ठप्पजस्तै’ छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको केन्द्रीय बैंङ्कका प्रवक्ताले बताएका छन् ।

नेपाली बजारमा आज (मंगलबार) पहेँलो धातु सुनको भाउ प्रतितोला एक हजार रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सोमबारको तुलनामा सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन तोलाको एक लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल राष्ट्र बैंङ्कका प्रवक्ता गुणाकर भट्टले पछिल्लो समय दुई ठूला अमेरिकी बैंङ्कहरू धरासायी भएपछि डलरका लगानीकर्ता पनि सुनतर्फ आकर्षित भएको हुनसक्ने ठान्छन् । अमेरिकी केन्द्रीय बैंङ्कको ‘ब्याजदर बढाउनुको नकारात्मक असर देखिएको भन्ने बजारको मनोविज्ञान’ खडा हुँदा अमेरिकी डलरबारे संशय उत्पन्न भएको उनी बताउँछन् ।

कारण : डलरको चिन्ता र तेलको खस्कँदो मूल्य


अमेरिकी डलर बलियो हुँदै गएको अहिलेसम्मको अवस्था कायम छ । राष्ट्र ब्याङ्कको शुक्रवारको मूल्य सूची अनुसार १ अमेरिकी डलरको विक्री मूल्य १३२.०५ रुपैयाँ छ । ‘तर फेडरल रिजर्भले अब थप ब्याजदर बढाउँदैन भन्ने बजारको संशय देखिन्छ,’ गुणाकर भट्ट भन्छन् ।

मार्च महिनामै सिलिकन भ्याली बैंङ्क (एसभीबी) र सिग्नेचर बैंङ्क सङ्कटमा परेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाको वित्तीय प्रणाली सुरक्षित रहेको आश्वासन दिए पनि एसियाली तथा युरोपेली शेयर बजारहरू आश्वस्त हुन सकेका देखिँदैनन् ।

सेअर बजारका कारोबारीहरूले समेत सुनमा नै लगानी बढाइरहेको बताइन्छ । भट्ट थप्छन्, ‘तेलको मूल्य समेत विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले तल आइरहेको छ । आर्थिक मन्दी हुनसक्ने चिन्ता छ ।’ लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मुख्य रूपमा अमेरिकी डलर वा सुन वा पेट्रोलियम पदार्थजस्ता कच्चा पदार्थमा लगानी गर्छन् ।

कारोबार ‘ठप्प’


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले उच्च भाउका कारण नेपाली बजारमा कारोबार अहिले ‘ठप्पजस्तै’ रहेको बताउँछन् । ‘भाउ अझै केही बढ्ने नै देखिन्छ । नेपालीहरूको क्रय शक्ति बढेको छैन । त्यसले सुन बजार निकै सङ्कटमा देखिन्छ,’ शाक्य भन्छन्, ‘सुन यतिधेरै महँगो भयो कि नेपालीहरूले अत्यावश्यक नपरीकन सुन किन्ने अवस्था छैन ।’

नेपालमा दुई साताअघि एकैदिन झण्डै ३ हजार रूपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो । राष्ट्र ब्याङ्कका प्रवक्ता भट्टले नेपालमा ‘विवाहको समयमा मागका दृष्टिले सुनको कारोबार केही बढ्ने’ भए पनि त्यो अन्तर्राष्ट्रिय बजारकै प्रभावले चल्ने बताउँछन् ।

दबावमा उपभोक्ता


विवाहको समयबाहेक तीजको समयमा समेत नेपालमा सुनको माग निकै बढ्ने गरेको विगतको अनुभव छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्यो भने उपभोक्ताले त्यसको उपभोग नगरेर बस्न सक्ने भए तापनि नेपालमा सामाजिक–सांस्कृतिक रूपबाट त्यो सम्भव नहुने भएकाले उपभोक्ताको दृष्टिबाट त्यो चिन्ताजनक समेत मान्ने गरिएको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका भूतपूर्व अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय रूपमा देखिएका कैयौँ अनिश्चितताको असर सुनमा देखा परेको बताउँछन् । ‘बीचमा केही घट्ला जस्तो देखिएको थियो, तर फेरि बढ्ने क्रम नै लियो,’ शाक्य भन्छन् । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो पाँच दिनको औसत सुनको मूल्य प्रति औस १९७० अमेरिकी डलर देखिएको छ ।

‘त्यो २,००० डलर पुग्ने बित्तिकै नेपालमा पुनः यसअघिको उच्च विन्दू १ लाख १० हजार रुपैयाँ पुग्छ, अहिलेको सङ्केतमा त्यो अझ उकालो लाग्ने अनुमान छ,’ शाक्य थप्छन् । नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको विवरणमा आयातको ३.४ प्रतिशत हिस्सा सुनको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा झण्डै १२ प्रतिशत बढी हो ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार ११:४५