सूचनाको शक्ति - The Power Of Information

        

स्मार्टफोनको प्रयोगले मानसिक स्वास्थ्यमा गम्भीर असर

स्मार्टफोन हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । मानिसमा स्मार्टफोन र सोसल मिडिया एप्सको लत छ । खासगरी युवाहरू सधैँ आफ्नो मोबाइलमा सामाजिक सञ्जाल एपमा सक्रिय हुन्छन् ।

तर, स्मार्टफोन र सामाजिक सञ्जालको लतले मानिसको जीवन बरबाद गरिरहेको पनि धेरै अनुसन्धानमा खुलासा भएको छ । अब अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जाल र फोनको अत्यधिक प्रयोगले मानसिक तनाव र आत्महत्याको जोखिम बढाउन सक्ने बताएका छन् ।

डिप्रेसन र बिर्सने रोगको सिकार

पबमेड जर्नलको रिपोर्टका अनुसार सामाजिक सञ्जालमा बढी सक्रिय हुँदा निद्रा पूरा हुँदैन । यसले मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ । व्यक्ति डिप्रेसन र बिर्सने रोगको सिकार बन्न जान्छ । साइबर बुलिङले स्थितिलाई झन् खराब बनाउँछ ।

अफवाह, नकारात्मक टिप्पणी र दुर्व्यवहारले प्रयोगकर्ताहरूको दिमागमा चोट पुर्याउँछ, जसले गहिरो प्रभाव पार्छ । प्यू रिसर्चको सर्वेक्षण अनुसार करिब ६० प्रतिशत प्रयोगकर्ताहरू अनलाइन दुर्व्यवहारको सिकार भएका छन् । यस्तो अवस्थामा धेरै युवाहरूले गलत कदम चाल्छन् ।

युवतीहरूको मानसिक स्वास्थ्यमा बढी असर पर्छ

‘ल्यान्सेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थ’को अध्ययन अनुसार केटीहरूको मानसिक स्वास्थ्य सामाजिक सञ्जाल प्रयोग गरिरहेका केटाहरूको भन्दा खराब देखिन्छ । ट्रेलरहरू, साइबर बुलिङ र यौन दुर्व्यवहार युवतीको लागि बढी जोखिम छ । यसले उनीहरूलाई निद्रा नलाग्ने समस्या हुन्छ । त्यसपछि उनीहरू मानसिक रोगको सिकार बन्छन् । कतिपय युवतीले आत्महत्याजस्ता कदम पनि चालेका छन् ।

सामाजिक सञ्जाल समाज विरोधी बन्दै गएको छ

प्रतिवेदनका अनुसार सामाजिक सञ्जालको लत जति बढी हुन्छ, त्यति नै मानिसमा डिप्रेसन र एन्जाइटी हुने सम्भावना बढी हुन्छ । विज्ञहरू भन्छन् कि जब तपाईँ कसैलाई आमनेसामने भेट्नुहुन्छ, तपाईँ उसको अनुहारको हाउभाउ र शारीरिक भाषाबाट बुझ्न सक्नुहुन्छ ।

अर्कोतर्फ, जब कोही भर्चुअल संसारमा सीमित हुन्छ, मानिसलाई बुझ्न र सांसारिकता सिक्न सक्दैन । सामाजिक सञ्जालमा मानिसहरू राम्रा कुराहरू बोल्छन्, तर वास्तविक जीवनमा आवश्यक पर्दा समर्थन गर्दैनन् । जसका कारण मानसिक स्वास्थ्य पनि बिग्रन्छ ।

स्मरण शक्तिमा नराम्रो असर

क्यानेडियन मेडिकल एसोसिएसन जर्नलमा प्रकाशित रिपोर्टका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगले प्रयोगकर्ताको सम्बन्ध, निद्रा, कार्यसम्पादन र भावनालाई असर गरिरहेको छ । निरन्तर सामाजिक सञ्जालमा रहने प्रयोगकर्ताको स्मरण शक्तिमा पनि यसले नराम्रो प्रभाव पारेको अध्ययनमा देखिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १०:४१