नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार ‘निल्नु न औकल्नु’झैँ भएको छ । अहिलेको गठबन्धनसँग आवद्ध कांग्रेस र अघिल्लो गठबन्धनको दल नेकपा एमालेले विश्वासको मत दिएपछि सरकारको नेतृत्व गरेको माओवादीलाई ‘निल्नु न औकल्नु’झैँ भएको हो ।
संघीय सरकारसँगै ६ वटा प्रदेशबाट बाहिरिएको एमालेले कर्णालीमा माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि माओवादी झस्किएको छ । माओवादीले केन्द्रको सहमति अनुसार कर्णालीमा कांग्रेससँग छलफल गरेर सरकारमा ल्याउन गरिएका प्रयासहरु कांग्रेस पक्षबाट स्वीकार नहुँदा माओवादी नेतृत्वको सरकारले हैरानी ब्यहोनु परेको छ ।
मुख्यमन्त्री राजकुमार शर्माले सबै दललाई सरकारमा ल्याइ मन्त्रालय समेत सबैले मिलेर चलाउने दाउँमा भए पनि त्यो चाहना पुरा हुन सकेको छैन । माओवादी र एमालेको भागमा परेको केही मन्त्रालय घटाएर कांग्रेसलाई सरकारमा सहभागी गराउने नीतिमा मुख्यमन्त्री शर्मा रहेका छन् । कांग्रेसलाई पटक पटक छलफलमा बोलाए पनि छलफलमा सहभागी हुन नमानेको माओवादीको आरोप लगाएको छ ।
मुख्यमन्त्री शर्मालाई विश्वासको मतसमेत नदिन र केन्द्रको स्पीड अनुसार अगाडी बढ्न आग्रह गरिए पनि विश्वासको मत दिएर एमालेले अर्कै सन्देश दिन खोजेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । शुक्रबार कर्णाली प्रदेशसभाको नवौँ बैठकमा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसले समेत मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको थियो ।
यद्यपि काँग्रेसले एमाले सत्तामा रहेसम्म आफू नै प्रतिपक्षको भूमिकामा रहने बताइरहेको छ । १० पुसको सहमति अनुसार एमालेले अहिलेसम्म तीन वटा मन्त्रालयको जिम्मेवारीसहित सरकारमै छ । यसो हुनुका पछाडि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रष्ट निर्णय नगर्नु नै हो । माओवादीका कतिपय प्रदेशसभा सदस्य र मन्त्रीले तीन दलको सहकार्य गरेर कर्णालीको विकास र परिवर्तनमा जुट्नुपर्ने बताइरहेका छन् ।
यो कुरामा एमाले लचक देखिए पनि काँग्रेसले भने मानिरहेको छैन । एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले अझै पनि मुख्यमन्त्री शर्मासँग सौहार्दपूर्ण वातावरण रहेको र शर्माले तीनवटै दल मिलेर अघि बढ्नुपर्ने आश्वासन दिइरहेको बताएका छन् । एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले एमाले–माओवादीबीच अहिलेसम्म सरकार छाड्ने विषयमा कुनै कुरा नभएको बताए ।
बरु तीन वटै दल एक ठाउँमा उभिएर प्रदेशको परिवर्तनका पक्षमा उभिनुपर्ने कुरा मुख्यमन्त्रीले भनेको उनको भनाइ छ । मुख्यमन्त्री शर्माले शुक्रबारको बैठकमा समेत यही कुरा बताएका थिए । उता काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सत्तामा जाने–नजाने कुरा माओवादीमा नै निर्भर रहने बताउँछन् ।
माओवादीले भनेजस्तो तीन दलीय सहकार्यमा सत्ता सञ्चालन गर्न नसकिने शाहीले प्रष्ट पारे । उनले आफू सरकारको नेतृत्व दाबी गरिरहेको र त्यो अडानबाट पछि नहटेको बताए । कांग्रेस र एमाले मिल्ने डरले माओवादीलाई अर्को तनाव दिएको छ । किनकी यि दल मिलेर पनि सरकार बनाउन सकिन्छ ।
सत्यपाटी संवाददाता । कर्णाली