सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंका सिडियो घनश्याम उपाध्यायको जागिर धरापमा

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको जागिर धरापमा परेको छ । उनकै नेतृत्वमा जिल्ला प्रशासनबाट सयौं तिब्बतियनलाई नेपाली नागरिकता दिएको खुलेपछि उनी पनि यो प्रकरणमा मुछिएका छन् ।

प्रहरीले उनकै कार्यालयका एक नासु र चार बिचौलियालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । जसमा जिल्ला प्रशासन कार्यालयको मिलेमतो देखिएको छ । यसमा निष्पक्षताका लागि अनुसन्धान गर्ने हो भने सिडिओ उपाध्याय पनि तानिने सम्भावना छ ।

प्रहरीले नागरिकता फाँटका देवीराज गौतमलाई पक्राउ गरिसकेको छ । बिचौलियासँग पैसा बुझेर सिडिओसम्मलाई बुझाउने व्यक्ति उनै हुन् । एउटा नागरिकतावापत उनले दुई लाख रुपैयाँसम्म लिने गरेका थिए ।

त्यही धन्दाका कारण वर्षाैदेखि उनी जिल्ला प्रशासन कायालयमा टिकेका थिए । प्रहरीले नागरिकता फाँटका अधिकृत र उपसचिवमाथि पनि अनुसन्धान गरिरहेको छ । साँच्चिकै नेपाली नागरिकले नागरिकता पाउन अनेक दुःख झेल्नुपर्छ ।

तर, तिब्बतीलाई भने नक्कली बाबु खडा गरी कीर्ते कागजपत्रका आधारमा धमाधम नागरिकता दिइएको थियो । जसकारण यसमा कर्मचारीमात्र नभई नेतृत्वकै मिलेमतो प्रष्ट देखिन्छ । अचम्म के भने देशको राजधानीमै यसरी सयौं शरणार्थीलाई नागरिकता बाँडिएको प्रष्ट हुँदा पनि गृह मन्त्रालयले छानबिनमा कुनै चासो नै व्यक्त गरेको छैन ।

प्रमाणहरु लुकाउन सक्ने भएकाले सिडिओ लगायत यसमा मुछिएका कर्मचारीलाई तत्काल हटाउनुपर्नेमा त्यसतर्फ पनि कुनै मतलब छैन । जसले यसको पैसा गृह मन्त्रालयसम्म पुगेको त होइन भन्ने प्रश्न उठेको छ । सिडिओ उपाध्याय गृहकै सेटिङका कारण ललितपुरबाट काठमाडौंको सिडिओमा फड्को मारेका सहसचिव हुन् ।

हेर्दा सोझा देखिए पनि शक्तिकेन्द्रलाई रिझाएर उनी आकर्षक पोष्टिङ पाउँदै आएका छन् । शक्तिको आडमा उनी गम्भीर अपराधमै संलग्न हुँदै आएको पाइएको छ । उनको नेतृत्वमा करिब पाँच सय तिब्बतीले नेपाली नागरिकता पाएको आँकलन गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार ०९:४९