सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा जीप दुर्घटना हुँदा १४ घाइते, दुईको अवस्था गम्भीर

दैलेखमा बोलेरो जीप दुर्घटना भएको छ । सोमबार दिउँसो १ ज ५५ नम्बरको उक्त जीप आठबिस नगरपालिका–१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको उक्त जीपमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ । जीपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको छ । घाइते दुई जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । गम्भीर घाइतेहरुलाई उद्धार गरी सुर्खेततर्फ पठाइएको छ ।

घाइते हुनेमा जिल्ला कालिकोट नरहरिनाथ गाउँपालिका–७ बस्ने ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीया दुर्गा बोगटी, ७ वर्षीया प्रतिक्षा बटला, नरहरिनाथ–५ बस्ने २० वर्षीया मनिषा बोगटी, सोही पालिका ८ नम्बर वडामा बस्ने ५५ वर्षीया गोपिकला विष्ट, ७ नम्बर वडाकी ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ६ वर्षीय राजकुमार बोगटी रहेका छन् ।

यस्तै, नरहरिनाथ गाउँपालिका–७ कै ६ वर्षीया स्वस्तिका बोगटी, १२ वर्षीया कल्पना सहकारी, ५ वर्षका भुवन बटाला, सोही पालिका–५ बस्ने १२ वर्षीय शुवास सहकारी, त्रिवेणी गाउँपालिका–२ बस्ने १४ वर्षीय सरद विष्ट र जीप चालक नरहरिनाथ–७ का २४ वर्षीय धनबहादुर बटाला घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १६:४७