राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली बाँकेको नरैनापुर गाउँपालिकामा पुगेको छ । नरैनापुर पुगेको आयोगको टोलीले गाँउपालिकाको निर्माणधिन भवन, अस्पताल र नेपाल भारत सिमाको अनुगमन गरेको छ ।
स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिएका छन् ।
आयोगका अध्यक्ष पौडेलले नरैनापुरको शिक्षा र स्वास्थ्यका लागि थप बजेट अवश्यक रहेको देखिएकोले सम्बन्धीत मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान सिफारिस गरेको बताए ।
नरैनापुरको स्थलगत निरिक्षण पश्चात जनप्रतिनिधि र कर्मचारीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष पौडेलेले नरैनापुरले गरेको कामको अन्य पालिकाले सिको गर्न जरुरी रहेको बताए । नरैनापुरको विकासका लागि अझ राम्रो काम गर्न सुझाव दिदै उत्कृष्ट भएकोमा बधाई दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।
यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिनराज निरौलाले संघीय सञ्चित कोषबाट तल्लो तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले पाएको ७८.५२ अंकको आधारमा देशकै पालिकामध्ये सबैभन्दा बढी बजेट पाएको बताए ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आयोगका अध्यक्ष पौडेल, सदस्य निरौला र गाँउपालिका महासंघका समन्वय अधिकृत रविन पौडेललाई खादा मलालाले स्वागत गरेका थिए । अध्यक्ष शाहले नरैनापुर उत्कृष्ट भएपछि आयोगको टोली पालिकामै आएर बधाई दिनु आफूहरुका लागि खुशीको कुरा भएको बताए ।
उनले नरैनापुरको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि थप बजेटको व्यवस्था गरी दिन माग गर्नु भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अथक परिश्रम र कडा मेहनतको फल देशकै उत्कृष्ट गाउँपालिकाको रुपमा दर्ज गर्न सफल भएको बताए ।
आयोगको टोलीले नरैनापुरका अध्यक्ष शाह, प्रमुख प्रशासकिय अधिकृत खराल, लेखा अधिकृत भरत बस्नेत, वडा नं. ५ का सचिव भरत महतो, स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाह, कृषि शाखा प्रमुख सदन भण्डारी, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, लेखापाल प्रकाश अधिकारी, सर्भिलेन्स अफिसर बिवेक पौडेल, वडा सदस्यहरुसँग छलफल गरेको थियो ।
सत्यपाटी संवाददाता । बाँके