सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको ‘मधुमास’ पूरा, जनसरोकारका काम अलपत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको १०० (मधुमास) समय पूरा भएको छ । गत पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित विभिन्न दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको विभिन्न राजनीतिक उल्झनबीच १०० दिन पूरा भएको हो ।

प्रधानमन्त्री नियुक्त भएपछि पुस २६ गते संसदबाट राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबैको विश्वासको मत प्राप्त गरेका प्रचण्डले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसँगै गठबन्धन परिवर्तन गरेपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका छन् ।

दोस्रो पटक विश्वासको मत लिँदा भने प्रचण्डले एमाले र राप्रपासहितको समर्थन गुमाउन पुगे । कांग्रेससँग गठबन्धन गरेर मंसिर ४ को चुनावमा होमिएका प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा एमालेको साथमा पुगे पनि पुनः एमालेसँगको गठबन्धन तोडेर कांग्रेससहितकै गठबन्धनमा फर्किँदा सरकारका प्राथमिकता भने ओझेलमा परेका छन् ।

सात पटक विस्तार हुँदा पनि मन्त्रीपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन भने अर्थतन्त्र सुधार तथा जनसरोकारका काम अलपत्र परेका छन् । हाल निर्वाचनअघिकै गठबन्धनमा नागरिक उन्मुक्ति लगायत केही साना दल थपिँदा समेत सरकारमा समेट्नुपर्ने र गठबन्धन जोगाइरहनुपर्ने चुनौतीमा उनी छन् ।

यसबीचमा सरकारले नागरिकका प्रत्यक्ष सरोकार रहने निकाय तथा सरकारी कार्यालयको सेवा सुधारको आश्वासन पूरा गर्न सकेको छैन भने ‘बिजनेस’ दिन नसक्दा संसद् बैठक समेत औपचारिकतामा सीमित हुने गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १३:०९