एघार बजिसक्दा पनि जताततै टम्मै कुहिरो लागेको थियो । बस स्टपमा शनिबार भएर होला, पशुपतिको दर्शन गर्न जाने यात्रुहरूको भीडले गर्दा खुट्टा टेक्ने ठाउँसम्म पनि थिएन । शनिबार ढिलोसम्म सुत्ने बानी भएर पनि म त्यो दिन पशुपति जाने आफ्नो परिवारिक टोलीमा सम्मिलित भएको थिएँ । सधैँ एक ढड्डी भएर आफ्नो कुरामा अडान लिए पनि कहिलेकाहीँ त श्रीमतीको संवेदनशीलतालाई विचार गर्नै पर्यो नि ?
नास्तिक नभए पनि बाध्यताजस्तै गरी जानुपर्दा मलाई देवस्थान गएर पनि के पो पुण्य मिल्ला र भन्ने लाग्थ्यो । तर यी सब कुरामा श्रीमतीसँग बहस गर्नुनै बेकार थियो । म जाडोले स्यू स्यू गर्दै दुवै हात पाइन्टको खल्तीमा राखेर बसस्टपमा टँछाडमछाड् गर्दै बसभित्र पस्न र बसबाट ओर्लन मस्त रहेका यात्रुहरूको भीडलाई हेर्दै थिए । अनायास छेउमा एउटा परिचित अनुहार देखेँ ।
मुखभरि जबर्जस्ती राम्री बन्ने इच्छाले पाउडर पोतेकी भद्दा देखिने गरी लिपिस्टिक दलेकी, आधा काटेको कपालको एक गुच्छा अगाडि ल्याएकी र रातभरि नसुतेको रक्स्याहाको पुलेको अनुहार भैँ देखिने त्यो नराम्रो अनुहार नलिनी भाउज्यूको नै थियो । नलिनी भाउज्यूले मेरो जीवनको कायापलट गरिदिएकी थिइन् । उनकै कारणले गर्दा मैले पढाइको विषय नै बदल्नुपरेको थियो । बीस वर्षअघि नलिनी भाउज्यूसँग मेरो भेटघाट भएको थियो ।
मेरो जीवनका ती अल्लारे दिनहरूमा नलिनी भाउज्यू आँधीजस्तै भएर पसेकी थिइन् । म बिग्रिएँ कि सप्रिएँ, उनको संसर्गपछि भन्ने कुरा त म र मेरो पिताजीबीच विवादस्पद नै रह्यो । उनका भनाइमा साइन्स पढ्न छोडेर म बिग्रिएको नै थिएँ । नलिनी भाउज्यूको बिहे हुनासाथ उनका पति दिलबहादुर दाइ विदेशमा पढ्न गएका थिए । भर्खरै बिहे भएको, त्यसमाथि पनि उन्नाइस बीस वर्षको पुट्दो जवानीमा लोग्नेलाई वर्ष दिन ‘बाहिर जाने अनुमति दिँदा उनी कति दिन रात–रातभरी रोएकी थिइन् रे !
म उनको घरमा डेरा हेर्न जाँदा दिलबहादुर दाइ हिँडेको एक महिना भइसकेको थियो । घरमा तरुनी बुहारी भएकीले सासूससुरालाई घर भाडामा दिने पनि इच्छा थिएन रे ! तर मलाई डेरा खोजिदिने वैद्यबा उनीहरूका आफ्नै मानिस थिए । त्यसमा पनि म उमेरको हिसाबले पनि नपत्याउँदो र हेर्दा पनि साह्रै लुरे देखिने भएकोले उनीहरूले सहमति दिएका थिए । नलिनी भाउज्यू दुई पटक म्याट्रिक पेल भइसकेकी रहिछन् । डेरा दिँदा उनीहरूको एउटा शर्त थियो, मैले उनलाई पढाइदिनुपर्ने ।
डेरा नपाइने र पाए पनि भाडा र अरू दृष्टिले आपूलाई उपयुत्त र सुविधाजनक नहुने हुँदा मैले इच्छा नभए पनि पढाइदिने शर्त मानेको थिएँ । नलिनी भाउज्यू बेलुकी कापी किताब च्यापेर मेरो कोठामा आउँथिन् । ससुरा मेरा कोठाभित्रको बार्दलीमा उङ्दै तमाखु तानिरहन्थे भने सासू मेरो कोठाको सङ्घारबाहिर लाल्टिनको उज्यालोमा बत्ती कातेर कुरिरहन्थिन् । तर यो काम धेरै दिन चलेन किनभने थोरै दिनमा नै बुढाबुढी मेरो बानी बेहोराले रिभिएका थिए । अनि नलिनी भाउज्यू मात्रै आउने गर्न थालिन् । त्यो परिवारका सबैजनाले मलाई माया गर्न थालेका थिए ।
नलिनी भाउज्यू त नाईं नाईं भन्दा पनि मेरो लुगापाटाहरू धोइदिने र घरमा पाकेका खाने कुरा ल्याउने गर्थिन् । यसरी नयाँ डेरामा आउनासाथ मलाई एक किसिमको हाइसञ्चो भएको थियो । नलिनी भाउज्यूको धप्धपाउँदो जवानी देखेर, उनी भित्रबाहिर गर्दा टोलका भाँडिएका केही केटाहरू उनलाई छेडखान गर्ने, बाटोमा एक्लै देख्दा घच्चा मार्न खोज्ने गर्थे रे ! कोहीकोही त मलाई पनि ईष्यालु दृष्टिले हेर्दै खाउँला भैँ गर्थे । एकाधपल्ट उनीहरूले मेरो सम्बन्धमा चसक्क बिझ्ने गरी भन्ने गर्थे, ‘ए चन्द्रे ! बुझिस् त्यो लुरे बाहुन त म्याट्रिक पास भइसकेको पो रहेछ !’
‘गुरुज्यूको सन्तानले त्यसलाई के देखेर डेरा दिएका होलान् !’
‘गुरुज्यूकी बुहारीले त त्यल्लाई पेटीकोटभित्र छोप्दी हो आदि आदि !’
कहिलेकाहीँ यस्तो पनि भन्थे रे, ‘एकपल्ट त्यल्लाई बेस्करी चुटौँ न । ’
यस्ता कुरा भन्दै उनीहरू गलल्ल हाँस्थे रे ! अरूभन्दा पनि म बिनाकारण र काम ती उद्दण्ड ठिटाहरूको गोदाइ खाइएला भनेर त्रस्त हुन्थेँ । बाध्यतावश मलाई उनीहरूको व्यवहारप्रति सहनशील हुनुपरेको थियो । अनि बिस्तारै विरोधाभासरहित आनीबानी देखेर उनीहरूले मलाई वास्ता गर्न छोडे । सायद उनीहरू मबाट टाढा हुने कारण अर्को पनि थियो, मलाई यदाकदा साइकलमा छोड्न आउने मेरो एउटा सहपाठी तिनताक काठमाडौँभरिकै कुख्यात गुण्डो र नाम चलेको बदमास थियो ।
उता नलिनी भाउज्यूको मिजास बदलिँदै थियो । उनी मलाई बराबर यस्ता छेडखान गर्थिन्, ‘ए तिमी त ठूलो खसी (रांगाको मासु) नखाएर पो यति दुब्लो भएको ! भोलिपर्सी कसरी स्वास्नी सुमर्छौ हँ ? तिम्रो क्लासका केटीहरू त तिमीलाई कति खिज्याउने गर्लान् हगि ?’ नलिनी भाउज्यूका यी कुराहरूको म केही जवाफ दिन्नथेँ । अनि बिस्तार बिस्तार धारामा नुहाउन जाँदा अर्थात् कौसीमा घाम ताप्न बस्दा दायाँबायाँ कोही नभए उनी नजानिँदो किसिमले आफ्ना अङ्ग प्रदर्शन गर्ने गर्न थालिन् ।
कहिले ब्लाउजको टाँक खुलै छाड्ने, कहिले खुट्टा तन्काउने निहुँले तिघ्रासम्म धोती सार्ने र कहिले ढाडमा कन्याइदेउ न भनेर टाँस्सिन आउने पनि गर्न थालिन् । सासूससुरा सुतेपछि सलाई माग्ने निहुँ थापेर नलिनी भाउज्यू पेटीकोटले वक्षस्थल छोपेर शरीरको माथिल्लो भागमा अरू कुनै लुगा नलगाई मेरो ढोका ढकढकाउन आइपुग्थिन् । कौतुहलता बढ्दै थियो मेरो मनमा पनि ! अनि म पनि क्लास छोडेर डेरामै बस्न थालेँ ।
बुढाबुढीले सोधे भने म जाँच आएकोले घरमै बसेर पढ्ने गरेको भनिदिन्थेँ । ससुरा ज्यासलतिर लाग्थे, सासु धेरैजसो स्वयम्भूतिर पूजामा जान्थिन् । अनि नलिनी भाउज्यू उन्मत्त भएर मेरो कोठामा पस्थिन् । ‘छि ! यो उज्ज्वल भाइले के विधि पसिना काढेको ?’ नलिनी भाउज्यू मलाई दुवै हातले च्याप्दै भन्ने गर्थिन् । यसरी दिन, हप्ता र महिना गर्दै दस महिना बितेको पत्तै भएन । १० महिनामा म एक महिना पनि कलेज गइन हुँला । नलिनी भाउज्यूको सङ्गतले मैले भने आफ्नो पढाइ भने पूरै बर्बाद गरेँ । उनको निर्लज्जता र छाडापनले केही कसर छोडेको थिएन !
‘तिम्रा यी तिघ्रामा कहिले मासु भरिएलान् उज्ज्वल भाइ ?’ नलिनी भाउज्यू मलाई अँठ्याउँदै भन्ने गर्थिन् । हुन पनि म ज्यादै नै दुब्लो थिएँ । ‘कति साना हात एक पेरो मार्न पनि सक्दैनौं ?’ ‘के गरुँ त अब, आफुलाई भगवानले दिएकै यस्तो !’ मलाई कहिलेकाहीँ ग्लानि अनुभव हुने गर्थ्यो । नलिनी भाउज्यूले पनि होच्याएर मात्र भनेकी थिइनन् । अनि एक दिन दिलबहादुर दाइ पर्के । उनी रातापीरा र हँसमुख थिए । उनी पर्केपछि नलिनी भाउज्यूको खुसीको सीमा थिएन । दिलबहादुर दाई निकै रमाइला र बोलक्कड पनि थिए ।
मलाई जिस्क्याईजिस्क्याई उनले रक्सी पिउन सिकाए । तर उनी फर्केपछि नलिनी भाउज्यूको व्यवहार बदलिँदै गयो । एक दिन धारामा मैले पूर्ववत् उनको वक्षस्थल निर्वाङ्ग पार्न खोज्दा उनले मलाई गालामा एक थप्पड हिर्काइन् । त्यसपछि मैले अरू साहस बटुल्नै सकिनँ । अनि मैले हिजोकी नलिनी भाउज्यूलाई बिर्सन बाध्य हुनुपर्यो । भण्डै बिर्सिसकेको कलेज धाउने काम फेरि शुरु भयो । त्यसैबीच एक पटक कलेजबाट छिटो पर्केको दिन म कौसीमा उक्लेको थिएँ । नलिनी भाउज्यू र छिँडीमा नयाँ बस्न आएको अर्को डेरावाल आलिङ्गनबद्ध भइरहेका रहेछन् । आधा भर्याङ उक्लनासाथ म असमञ्जसमा परेँ ।
मलाई देख्नासाथ नयाँ डेरावाल लुरुक्क नबोली तलतिर लाग्यो । ‘तँ काठालाई कसले कौसीमा आउनु भन्यो ? भोलि नै निकालेर पठाइदिन्छु अनि !’ नलिनी भाउज्यू गर्जिइन् । ‘म के थाहा पाउँ त, यहाँ यस्तो गोप्यक्रीडा भइरहेछ भन्ने ।’ ‘बर्ता बोलिस् भने म लोग्नेलाई भनेर तँलाई… ।’ अनि म आफ्नो कोठामा पर्कें । भोलिपल्टै नयाँ डेरावाल अन्तै सरेर गयो । म पनि नयाँ डेरा तलास गर्ने तरखर लागेँ । मेरो कोठाको ठीक एक तल्लामाथि दिलबहादुर दाइ र नलिनी भाउज्यू सुत्थे । एकरात मैले नलिनी भाउज्यूले सुँक्क–सुँक्क गर्दै केही कुरा भनिरहेको सुनेँ दाइलाई, कौतूहलतावश आफ्नो ढोकानिरबाट कान थापेर बसेँ ।
‘त्यसलाई उठाएर पठाउनुपर्यो है ! हेर्दा मात्र मरिचे हो त्यो ! मलाई तपाईंहरू कोही नभएको बेला घरमा एक्लै बस्न पनि डर लाग्छ । अस्ति त लुगा फेर्न लाग्दा पनि ट्वाल्ल हेरिरह्यो । धारामा पनि म हुँदा पनि नाङ्गै हुँलाजस्तो गर्छ !’ ‘तिमीलाई त्यस्तो लागेको मात्र हो, उठाउनुपरे उठाउँला नि ! तर मलाई त मानिस बेसै लाग्छ । त्यस्तो केही भए त म नहुँदा पनि त हुनुपर्ने ! बा–आमा पनि राम्रै मान्छे छ भन्नुहुन्छ !’ ‘जेसुकै गर्नोस् । कोही नभएको बेला मलाई हात हाल्यो भने नि ?’ नलिनी भाउज्यूको कुरा सुनेर म छक्क परेँ ।
एक मन त माथि उक्लेर भण्डाफोर गरिदिउँ जस्तो पनि नलागेको होइन, तर त्यसबाट आफुलाई उल्टो असर पर्ने सम्भेर चूप लागेँ । दुई महिनापछि मैले त्यहाँबाट डेरा अन्यत्रै सारेँ । अनि जीवन पनि अर्कैतिर मोडियो । परिवारसँग मनमुटाव, पढाइमा असफलता, आर्थिक समस्या र अन्ततोगत्वा बिहेपछि जबर्जस्ती लादिएको थप बोभले गर्दा म थिलथिलो हुँदै गएँ । नलिनी भाउज्यूसँग पनि कहिल्यै देखादेखासम्म पनि भएन । आज अकस्मात् उनलाई देख्दा मलाई आफ्नो पूर्वस्मृति ताजा भएको अनुभव भयो ।
एक छिनमा हाम्रो अगाडि भीमकाय बस आएर उभियो । अरू यात्रुहरूसँगै हामी पनि बसभित्र चढ्यौँ । आफ्नो क्षमताभन्दा भन्डै तीनगुणा यात्रु कोचेर एकातिर आधा लच्केको बस गन्तव्य स्थानतिर जाँदे थियो । हामी उभिएको ३४ सिट पर एउटा छेउको सिटमा नलिनी भाउज्यू बसेकी रहिछन् । उनको अनुहारमा कुटिल हाँसो थियो, मसँग चार आँखा हुनासाथ ! ‘नचिनेको मलाई तिमिले उज्ज्वल बाबु !’ ‘को नलिनी भाउज्यू ?’ मैले जबर्जस्ती कृत्रिम मुस्कानसहित जवाप दिएँ । ‘बाबु यता आउ ।’ मसँग च्यापिएर उभिएको मेरो छोरालाई सङ्केत गर्दै उनले भनिन् ।
एक पटक मेरो मुखमा पुलुक्क हेरेर सहमति पाएपछि मेरो छोरो हाम्पाल्दै नलिनी भाउज्यूको काखमा पुग्यो । ‘अनि भाउज्यू सञ्चै त ? दिलबहादुर दाइ कता नि ?’ ‘हामी छुट्टिइसक्यौँ, खै यतै हुनुहोला नि !’ नलिनी भाउज्यूले अमिलो मुख लगाएर जवाफ दिइन् । नसोध्नुपर्ने प्रश्न सोधिएछ भनेर मलाई खिन्न अनुभव भयो । यत्रो वर्षको अन्तरालमा के के भयो मलाई थाहा पनि थिएन नि त ! ‘लौ त उज्ज्वल बाबु, मेरो त ओर्लने ठाउँ पनि आइपुग्यो,’ भन्दै नलिनी भाउज्यू बसभित्रको घुइँचो छिचोलेर निस्किइन् ।
दिलबहादुर दाइ र नलिनी भाउज्यू किन छुट्टिएछन् भन्ने कौतूहलता भयो मलाई । नलिनी भाउज्यूको चरित्रले गर्दा उनीहरूको सम्बन्धविच्छेद भएको होला भन्ने लख काटेँ मैले ! त्यसपछि नलिनी भाउज्यूको कतै प्रसङ्ग नउठेकोले मैले उनलाई बिर्सें । केही दिनपछि आफ्नै कामले पुरानो डेरा भएको टोलमा जानुपर्यो । सडकको शिवमन्दिर जीर्णोद्धार भइसकेको रहेछ । त्यसको अगाडि भएको पुरानो घरको ठाउँमा चारतल्ले भव्य विशाल घर ठडिइसकेको थियो । पहिले मलाई तर्साउने त्यो टोलको उद्दण्ड केटो त्यही घरमा दैनिक उपयोगका सामान बिक्री गर्ने साहु पसले भइसकेछ । उसले मलाई देख्नासाथ हात उठाउँदै भन्यो, ‘अहो उज्ज्वल भाइ, आफ्नो पुरानो टोल बिर्सेको ?’ (काल्पनिक कथा)
सत्यपाटी संवाददाता । काठमाडौं