सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरपालिका

‘कमिसन चलखेल’ले २७ लाखको सेनेटरी प्याड गुणस्तरहीन

कोहलपुर नगरपालिकाले जस्मिन हाइजिन कम्पनीमार्फत खरिद गरिएका सेनेटरी प्याड गुणस्तरहीन देखिएपछि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिमाथि कमिसनका लागि चलखेल गरेको आरोप छ ।

छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ, तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ ।

स्कुलले छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड गुणस्तरहीन हुँदा छात्राले रुचाएका छैनन् । बाँकेको कोहलपुर नगरपालिकाले खरिद गरेको २७ लाख रुपैयाँको सेनेटरी प्याड गुणस्तरहीन भेटिएपछि अहिले बोरामै थन्क्याइएको छ ।

छात्राहरुलाई निःशुल्क वितरण गर्न नगरपालिकाले खरिद गरेको उक्त प्याड गुणस्तरहीन भेटिएपछि कर्मचारी तथा जनप्रतिधिमाथि कमिसनकै लागि कमसल प्याड खरीद गरेको आरोप लागेको छ । अहिले गुणस्तरहीन सेनेटरी प्याड नगरपालिकामै थन्क्याइएको छ ।

सेनेटरी प्याड गुणस्तरहीन भेटिएपछि नगरभित्र रहेका सामुदायिक विद्यालयका किशोरी छात्राहरु प्याडको नियमित प्रयोगबाट बञ्चित भएका छन् । ‘कर्मचारी तथा जनप्रतिधिको कमिसन मोहका कारण सेनेटरी प्याड गुणस्तरहीन खरीद गरिएको एक जना अभिभावकले बताए ।

सरकारले २०७६ सालमा सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधिसमेत लागू गरेको थियो । त्यसले सेनेटरी प्याड वितरणको जिम्मेवारी पालिकालाई प्रदान गर्नुका साथै प्याडको न्यूनतम मापदण्डसमेत तोकेको छ ।

प्याडको न्यूनतम लम्बाइ २४० मिलिमिटर, चौडाइ ६० देखि ७५ मिलिमिटर, मोटाइ १५ मिलिमिटर लगायतका मापदण्ड तोकिएको छ । सेनेटरी प्याड कार्यविधिमा तोकिएको स्पेसिफिकेसन उपयुक्त नभएको, टेन्डरमा सेटिङ भएको, खरिद प्रक्रिया नै त्रुटिपूर्ण भएको, त्यसको गुणस्तर मापन नै नगरेर खरीद गरिएको अनुमान गरिएको छ ।

जस्मिन हाइजिन नामक सप्लायर्स कम्पनीमार्फत २७ लाख रुपैयाँमा खरिद गरिएका सेनेटरी प्याड वितरण गर्ने तयारी भइरहेका बेला विद्यालयका शिक्षकले गुणस्तरहीन भएको बताएपछि ‘कमिसन चलखेल’को रहस्य खुलेको हो ।

मापदण्डभित्र रहेर प्याड खरिद गरिएमा गुणस्तरमा समस्या नहुने भए पनि कमिसनको लोभमा कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा गुणस्तरहीन प्याड खरिद भएको नाम नबताउने सर्तमा नगरपालिकाका एक जना कर्मचारीले बताए ।

गुणस्तरहीन सेनेटरी प्याड खरिद भएको रहस्य खुलेपछि अहिले उक्त प्याड परीक्षणका लागि नमुना काठमाडौं पठाइएको छ । नगरपालिकाका जिन्सी शाखा प्रमुख हरि वलीले गुणस्तरहीन भए नभएको बारेमा सेनेटरी प्याड परीक्षणका लागि गुण नियन्त्रण तथा नापतौल विभाग काठमाडौँ पठाइएको जानकारी दिएका छन् ।

केही समयअघि मात्र भन्सार कर्मचारीबीचमा भएको सेटिङबाट आयात गरिएको प्याड भन्सार मूल्याङ्कनभन्दा न्यून मूूल्यमा आयात गरेपछि जसमिन हाइजीन प्रालि विवादमा तानिएको थियो । सोही कम्पनीमार्फत गुणस्तरहीन प्याड खरिदमा कोहलपुर नगरपालिकाका कर्मचारीदेखि जनप्रतिधिसम्मको संलग्नता रहेको देखिएको छ ।

प्याड खरिदका लागि सो कम्पनीले सेटिङमा गुणस्तरहीन प्याड उपलब्ध गराउँदै आएको स्रोतको दाबी छ । स्रोतका अनुसार नगरपालिका र कम्पनीबीच कमिसन सेटिङ्गका आधारमा गुणस्तरहीन प्याड खरीद भएको हो । संघीय सरकारले प्याड वितरण कार्यक्रमका लागि बनाएको कार्यविधि विपरित प्याड खरीद भएको दावी गरिएको छ ।

गाउँपालिका, नगरपालिका र महानगरपालिकाहरूले खरिद गरेका प्याड गुणस्तरहीन भएको रहस्य खुलेपछि विवादमा तानिँदै आएको उक्त कम्पनीले सेटिङ्गमै कोहलपुर नगरपालिकालाई गुणस्तरहीन प्याड उपलब्ध गराएकोले तत्काल अख्तियार अनुसन्धान आयोगले छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने अभिभावकहरु बताउँछन् ।

उक्त कम्पनीले उत्पादन गरेको प्याड प्रयोग गर्दा खस्रो हुने, टाँसिने, चिलाउने र पोल्नेजस्ता समस्या आएपछि सेनेटरी प्याड गुणस्तरहीन भएको यसअघि पनि खुलेको हो । सरकारले २०७६–०७७ देखि सामुदायिक विद्यालयका छात्रा लक्षित गरी निःशुल्क प्याड वितरण कार्यक्रम सुरु गरेको थियो ।

संघीय सरकारले प्याड वितरण कार्यक्रमका लागि कार्यविधि नै बनाएर कस्तो प्याड खरिद गर्ने, प्याडको लम्बाइ, चौडाइसहित त्यसमा प्रयोग हुने कपडाको समेत मापदण्ड तोकिएको छ । अन्य पालिकाहरूले पनि सेटिङमा व्यवसायीसँग गुणस्तरहीन सेनेटरी प्याड खरिद गरी सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई वितरण गर्दै आएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०८:२५