सूचनाको शक्ति - The Power Of Information

        

मजदुरी गर्न भारत गएका बाँकेका धनबहादुर बेपत्ता

गत चार महिनादेखि भारतमा बेपत्ता भएका बाँकेका धनबहादुर कुसारी ।

मजदुरीका लागि भारत गएका बाँके जिल्लाका एक नेपाली नागरिक गत चार महिनादेखि बेपत्ता भएका छन् । बाँकेको राप्तीसोनारी ८ का ६१ वर्षीय धनबहादुर कुसारी भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्ला कोटखाइबाट फागुन १३ गतेबाट बेपत्ता भएको कुसारीका आफन्तले जनाएका छन् ।

कोटखाइस्थित बागी भन्ने ठाउँबाट घर जान्छु भनी हिँडेका कुसारी एक्कासि बेपत्ता भएको उनकी पत्नी खैरे कुसारीले बताइन् । उनका अनुसार बागीमा मजदुरी गरिरहेका पति कुसारी फागुन १३ गते (फेब्रुअरी २४) घर जान्छु भनी त्यहाँबाट हिँडेपछि परिवारको सम्पर्कमा आएका छैनन् ।

भारतमा पुगेर थुप्रै ठाउँमा उनको खोजी गरिए पनि हालसम्म कुनै पत्तो लगाउन नसकिएकाले खोजीमा सहयोग गरिदिन सबैसँग कुसारी परिवारले आग्रह गरेको छ । सामान्य अवस्थामा रहनु भएका कुसारीको परिवारले उनको खोजीमा गत चार महिनादेखि धेरै खर्च र दौडधुप गरे पनि फेला पार्न नसक्दा अति नै पीडामा छ ।

परिवारका अनुसार यसअघि भारतमा मजदुरीका लागी पटक पटक जाने गरेका ६१ वर्षीय कुसारी यसपटक एक्लै घर फर्किन्छु भनी बागीबाट हिँडेका थिए । उनी बागीबाट गाडी चढेर कुन स्थानमा पुगे वा कता गए भन्ने बारेमा केही पनि पत्ता लाग्न सकेको छैन ।

कुसारीको परिवारले माइती नेपालको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयमा पनि घटनाबारे जानकारी गराएर खोग्नको लागि निवेदन दिएका छन् । माइती नेपाल नेपालगन्ज कार्यालयका प्रमुख केशव कोइरालाले कुसारी हराएको जानकारी प्राप्त भएको र खोजीका लागी भारतीय प्रहरीलाई सम्पूर्ण विवरण दिएर समन्वय गरिएको बताए ।

कुसारीलाई भारतमा कसैले कतै फेला पारेमा नेपालस्थित मोबाइल नम्बर ९७४९८९८२३० वा ९८६४९२९८४१ वा माइती नेपालको कार्यालयमा सम्पर्क गरिदिनुहुन कुसारीको परिवारले सबैसँग आग्रह गरेको छ । घटनाबारे बाँके प्रहरीलाई पनि जानकारी गराएर खोजीका लागि आग्रह गरिएको बेपत्ता कुसारीकी श्रीमती खैरे कुसारीले बताइन् ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ०९:४४