रुसको एक अदालतले मङ्गलबार एलेक्सी मोस्कालेभ नाम गरेका व्यक्तिलाई दुई वर्षको जेल सजाय सुनाएको छ । उनको एउटै अपराध थियो कि गत वर्ष मोस्कालेभकी छोरीले आफ्नो विद्यालयमा युद्धको विरुद्धमा चित्र बनाएकी थिइन् ।
रुसी प्रहरीले एलेक्सी मोस्कालेभलाई घरमै नजरबन्दमा राखेको थियो । तर, रोयटर्सको रिपोर्टका अनुसार अहिले प्रहरीलाई उनको ठेगानाबारे केही थाहा छैन । मोस्कालेभ सजायबाट बच्न भागेको विश्वास गरिन्छ । यसअघि प्रहरीले उनीबाट ३२ हजार रुबल (रुसी मुद्रा) जरिवानासमेत असुलेको थियो । उनलाई छोरीको राम्रोसँग पालनपोषण नगरेको भनियो ।
अनुसन्धान एजेन्सीले युक्रेन युद्धमा उनको टिप्पणीलाई बलात्कारको अपराधसँग तुलना गरेको छ । गत वर्ष युद्ध सुरु भएको दुई महिनापछि अप्रिलमा एलेक्सीको छोरीको विद्यालयमा रुसको युद्धलाई समर्थन गर्ने चित्र बनाउन भनियो । यसमा एलेक्सीकी छोरी माशाले एक चित्र बनाइन् जुन युद्धको विरुद्ध थियो । माशाले चित्रमा बच्चा र तिनकी आमालाई देखाइन् ।
त्यसमा लेखिएको थियो, युद्ध हुनुहुँदैन । युक्रेनको समर्थनमा नारा पनि लेखिएको थियो । एक दिनपछि, माशाका शिक्षकहरूले एलेक्सीलाई स्कूलमा बोलाए । बाबुछोरी दुवैलाई कारमा राखेर सोधपुछका लागि लगिएको थियो । पुटिनले रूसमा युद्धको आलोचना रोक्न धेरै किसिमका प्रतिबन्धहरू लगाएका छन्। एलेक्सी पनि यसको सिकार भए ।
स्थानीय प्रहरीले उनलाई पक्राउ गरी छोरी माशालाई हेरचाह केन्द्रमा पठाएको छ । एलेक्सीले रुसको मानव अधिकार समूहलाई भने कि डिसेम्बर ३० मा पाँच पुलिस कार र एक दमकल उनको घर बाहिर उनलाई पक्राउ गर्न आए । उनी बिना वारेन्ट उनीहरूलाई घरमा पस्न दिन चाहँदैनथे । तर उनीहरुको दबाबमा उनले ढोका खोले ।
त्यसपछि प्रहरी र रुसको संघीय सुरक्षा सेवा अर्थात एफएसबीले उनको घरको खानतलासी लिन थाले । एलेक्सीले आरोप लगाए कि उनीहरूले आफ्नो सबै बचत, मोबाइल फोन, ल्यापटप र उनकी छोरी माशाले बनाएको पेन्टिङ समेत खोसे । अल जजीराका अनुसार रसियाले एलेक्सीको आरोपमा कुनै प्रतिक्रिया दिएको छैन ।
एलेक्सीले आफूलाई सुरक्षा अधिकारीहरूले कोठामा कैद गरेको बताएका छन् । उनलाई भित्तामा टाउको ठोकेर यातना दिइएको थियो । यससँगै उनलाई रुसको राष्ट्रिय गान ठूलो स्वरमा सुनाइयो । जुन असह्य थियो । एलेक्सीको ट्रायल केही दिनमा सुरु हुने अपेक्षा गरिएको छ । अहिले उनलाई घरमै नजरबन्द गरिएको छ ।
एलेक्सीलाई उनको वकिल र अनुसन्धान एजेन्सीबाहेक कसैले सम्पर्क गर्न सक्दैन । आश्रयमा रहेकी माशालाई घर फर्काउन सक्दो प्रयास गरिरहेको एलेक्सीका वकिल बिलेन्कोले बताए । बाबु जेलमा परेमा उनी बालगृहमा बस्नुपर्नेछ । यस्तो अवस्थामा कम्तीमा तीन वर्षको सजाय हुनेछ । राजनीतिक मुद्दा भएकाले एलेक्सीको सजाय पनि बढ्न सक्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं