सूचनाको शक्ति - The Power Of Information

        

को हुन् उपप्रधानमन्त्री बनेका पूर्ण बहादुर ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारमा पूर्ण बहादुर खड्का उपप्रधान एवं रक्षा मन्त्री बनेका छन् ।

उपप्रधान एवं रक्षामन्त्री बनेका पूर्ण बहादुर खड्का नेपाली कांग्रेसको हाल उपसभापति हुन् । खड्का कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति बनेका हुन् । त्यस अघि उनी ११ औं र १२औं महाधिवेशनमा केन्द्रीय सदस्य र १३ औं महाधिवेशनमा कांग्रेसको महामन्त्री थिए ।

उनको जन्म २०१३ सालमा सुर्खेतमा भएको हो । उनी २०३१ सालबाट कांग्रेसको राजनीतिमा होमिएका थिए । मन्त्री पद उनका लागि नौलो होइन यस अघि उनी ५ पटक मन्त्री भएका थिए ।

खड्का कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् । गत मंसिरमा भएको निर्वाचनमा उनी सुर्खेत क्षेत्र नम्बर –१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

प्रजातन्त्र पुन ः प्राप्त पछि २०४८, २०५१, २०५६ भएको निर्वाचनमा उनी लगातार सुर्खेतबाट निर्वाचित भएका थिए । २०६४ मा संविधान सभामा उनी समनुपातिक सांसद बने भने दोस्रो संविधान सभाको निर्वाचन २०७० मा खड्का संविधान सभामा निर्वाचित भएका थिए ।

तर २०७४ को निर्वाचनमा भने पराजित भएका थिए । खड्का कर्णालीमा कांग्रेसको एक बलिया खम्बा मानिन्छन् । । कांग्रेस पार्टी प्रतिबन्धित अवस्थामा रहेकै बेला २०३४ सालमा उनी कांग्रेसको सुर्खेत जिल्ला सभापति भएका थिए ।

विभिन्न समयमा गरेर खड्काले ५ महिना भन्दा बढी जेल जीवन बिताएका छन् । उनले एक पटक पंचायत कालमा सुर्खेतको वीरेन्द्रनगरको मेयरको रुपमा चुनाव जितेका थिए ।

खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका छन् । उनले दुइ पटक गृहमन्त्री एकपटक युवा तथा खेलकुद मन्त्री, संचार मन्त्री र उद्योग वाणिज्य मन्त्री समेत भएर राज्य संचालनको अनुभव हासिल गरिसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १७:४१