सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारीकै मिलेमतोमा पशुपतिनाथ मन्दीरबाट लुटियो दान पेटिका

हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा जडान गरिएको सिसिटिभी क्यामेराको तार काटेर दान पेटिका लुट्ने गरिएको खुलासा भएको छ । पशुपतिनाथ मन्दिरभित्र राखिएको दान पेटिका हराएको घटनाबारे छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमार्फत सिसिटिभी क्यामेराको तार काटेर दान पेटिका लुट्ने गरिएको खुलासा भएको हो ।

पशुपतिनाथ मन्दिरमा राखिएको दान पेटिका २०७९ माघ १४ गते हराएको थियो । हराएको दान पेटिका केही घण्टापछि पुनः सोही स्थानमा भेटिएको घटना सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले छानबिन समिति गठन गरेको थियो । पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

उक्त समितिले छानबिन सकेर आवश्यक कारबाहीको सुझावसहित कोषलाई प्रतिवेदन बुझाइसकेको छ । तर, छानबिन समितिले कोषलाई प्रतिवेदन बुझाए पनि हालसम्म सार्वजनिक गरिएको छैन । प्रतिवेदन सार्वजनिक गर्दा अप्ठ्यारो पर्ने भएकाले लुकाइएको आरोप लाग्ने गरेको छ । छानबिन समितिका एक सदस्यका अनुसार समितिले बुझाएको प्रतिवेदनमा दान पेटिका हराउनुको मुख्य पाँच कारण उल्लेख छ ।

दान पेटिका राखिएको स्थानमा जडान गरिएको सिसिटिभी क्यामेराको तार काटिएको, दान पेटिका राखिएको कोठाको ढोकामा ताल्चा लगाइए पनि तान्दा सहजै खुल्ने भेटिएको, दान पेटिका राखिएको कोठामा छिर्ने गोप्य ढोका भेटिएको, दान पेटिका राखिएको स्थानमा बत्ती जडान गरिएको भए पनि चिम फुटाइएको र दान पेटिका राखिने कोठाको छेउमा रहेको गोप्य कोठामा सिक्काहरू भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

छानविन समितिका ती सदस्यका अनुसार छानविनका क्रममा सिसिटिभी क्यामेराको तार काटिएको भेटिएकाले दान पेटिका लुट्ने कार्यमा को–को संलग्न थिए भन्ने खुल्न सकेको छैन । तर, छानविनकै क्रममा दान पेटिका राखिएको कोठाको छेउमा रहेको अँध्यारो कोठामा सिक्काहरू भेटिएका छन् । त्यतिमात्र नभएर छानबिन समितिले दान पेटिका राखिएको कोठामा प्रवेश गर्ने छुट्टै भर्याङ समेत भेटेको छ ।

उक्त भर्याङ हुँदै पशुपतिनाथ मन्दिरको सुरक्षामा खटिने प्रहरी सुत्ने कोठामा पुग्न सकिने ती सदस्यले बताएका छन् । दान पेटिका राखिने कोठामा दुई लेयरको गेट रहेको छ । बाहिरी गेटमा रहेको ताला र ढोका सुरक्षित भेटिए पनि भित्री ढोकामा रहेको ताला तान्दा एकपटिको ढोका सहजै खुल्ने अवस्थामा भेटिएको बताइएको छ । समितिले औँल्याएका विषयहरू वास्तविक रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारी स्वीकार्छन् ।

दान पेटिका राखिने ठाउँको अवस्थाबारे आफूहरूले दान पेटिका हराएको घटनापछि मात्र थापा पाएको अधिकारीले बताए । अधिकारीले भने, ‘दान पेटिका हराएको घटना सार्वजनिक भए लगत्तै हामी घटनास्थल पुगेका थियौँ । त्यहाँ पुग्दा सिसिटिभी क्यामेराको तार काटिएको भेटियो, ताल्चा तान्दा सहजै ढोका खुल्ने अवस्था भेटियो, दान पेटिका राखिएको कोठा पुग्ने छुट्टै भर्याङ रहेको र उक्त कोठामा बक्ति समेत नबल्ने अवस्थामा भेटियो । तर, के कारणले यस्तो भयो भन्ने हामी जानकारी छैनौैं ।’

घटना लगत्तै सिसिटिभी क्यामेराको तार जडान, बत्ती जडान र घटना भएको क्षेत्रको सिलबन्दी गर्ने काम भएको प्रवक्ता अधिकारीले बताएका छन् । घटनाबारे बाँकी विषय प्रतिवेदन सार्वजनिक भएपछि नै थाहा हुने उनले बताए । दान पेटिका लुट्नका लागि गरिएका गतिविधिबारे छानबिन समितिले किटानी गरेता पनि उक्त प्रतिवेदन सार्वजनिक नगरिएकाले बाँकी विषय खुलेको छैन । तर, कोषका पदाधिकारी, उच्च तथा कनिष्ठ तहका कर्मचारी र सुरक्षाकर्मीकै मिलेमतोमा दान पेटिका लुट्ने काम भइरहेको छानबिन समितिको ठहर छ ।

छानबिन समितिका सदस्यका अनुसार प्रतिवेदनमार्फत कोषका पदाधिकारी, उच्च र कनिष्ठ तहका कर्मचारी तथा सुरक्षाकर्मीलाई दान पेटिका लुटमा कारबाही गर्न सिफारिस गरिएको छ । समितिले बुझाएको प्रतिवेदन सार्वजनिक हुँदा कारबाहीको भागिदार बन्नुपर्ने भएका कारण कोषले प्रतिवेदन सार्वजनिक गर्न नचाहेको बुझिएको छ । प्रतिवेदन सार्वजनिक भएको खण्डमा कोषका सदस्य सचिव डा.मिलनकुमार थापा लगायतका पदाधिकारीसमेत कारबाहीमा पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ११:२७