इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करण आजदेखि सुरु हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता गुजरात हार्दिक पाण्ड्या तथा चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ । चेन्नई आईपीएलमा चार पटकको विजेता टोली हो । आईपीएल भारतका विभिन्न सहरमा हुनेछ ।
कोराेना महामारीपछि पहिलो पटक फ्रेन्चाइज टोलीले होम र अवे मैदानमा खेल्दैछन् । यसपटक १० टोली सहभागी छन् । सहभागी सबै टोलीले तयारी पूरा गरेका छन् । ५९ दिनसम्म चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेल हुनेछन् । हरेक टोलीले १४ खेल खेल्नेछन् ।
१० टोलीबीच समूह चरणमा ७० खेल हुनेछन् र लिग चरणपछि अङ्क तालिकामा शीर्ष स्थानमा रहने शीर्ष ४ टोली प्लेअफका लागि छनोट हुनेछन् । यस सिजनदेखि इम्प्याक्ट प्लेयर नियम लागू हुनेछ ।
कुनै पनि टोलीले खेलको क्रममा १४ ओभर भित्रमा एक खेलाडी परिवर्तन गर्न सक्नेछन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ