सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

तिम्रै आलिङ्गनमा आजीवन…

शब्द थुँगा टिपी तिम्रा
खण्डमाला उन्ने मन छ,
अब्यक्त भाव पोखि मनका,
सँगसँगै चिन्तन गर्ने मन छ ।

बोलिको त्यो मिठास लिई,
आफु नै सहद बनिदिने मन छ,
ब्यवहारको तिम्रो सरलता मागी,
अँगालेर तिमीसँगै बहिदिने मन छ ।

डुबी तिम्रै नयन कमलमा,
बाँकी रहर पौडिने मन छ,
बसी तिम्रै शौम्य सामिप्यमा,
बेदना सबै पोख्ने मन छ ।

ब्यस्तताको तिम्रो भारी टिपी,
डाँडै कटाई छोड्ने मन छ,
आश्वासनका तिम्रा आँगनभरि,
गुनासोका बिस्कुन फिजाउने मन छ ।

रोकि हाम्रा मिलनका घडी,
समाहित हुँदै गल्ने मन छ,
लुकि तिम्रै आलिङ्गनमा आजीवन,
मृत्युलाई पनि छल्ने मन छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ०८:२३