सूचनाको शक्ति - The Power Of Information

        

जुम्रा सारेर छोरीलाई मृत्युको मुखमा पुर्‍याएको आरोपमा आमा पक्राउ

आफ्नी चार वर्षकी छोरीलाई जुम्रा सारिदिएर उनलाई मृत्युको मुखमा पुर्याएको आरोपमा २६ वर्षकी आमा पत्राउ परेकी छिन् । अमेरिकाको इण्डियानामा बस्ने यी आमाबाट बच्चालाई जुम्रा सरेको र जुम्राबाट भएको संक्रमणका कारण बालिका मृत्युको मुखमै पुगेको खुलासापछि ती आमालाई पक्राउ गरिएको हो ।

बालिकालाई जुमबाट संक्रमण भएपछि उनको अवस्था निकै गम्भीर भएको थियो र उनलाई निकै मुस्किलले बचाउन सकिएको थियो । ती बालिकालाई जुम्राबाट संत्रमण भएपछि उनको शरीरमा अक्सिजनको स्तर अत्यन्तै न्यून भएको थियो । गत महिना इण्डियानाको स्कटबर्गको अस्पतालमा भर्ना गरिएकी बालिकाको अवस्था देखेपछि डाक्टरले पुलिसलाई खबर गरेका थिए ।

त्यसपछि २६ वर्षीया आमा शायने निकोल सिंहलाई यही हप्ताको सुरुवातमा पत्राउ गरिएको हो । बालिका हिँड्डुल गर्न असमर्थ भइसकेकी थिइन् र जुम्राले उनको शरीरबाट हेमोग्लोबिन चुसेर उनको शरीरमा अक्सिजनस्तर निकै खतरनाक स्तरमा भारिदिएका थिए । बालिकाकी आमामाथि आफुमा निर्भर व्यक्तिको स्वास्थ्यप्रति गम्भीर लापरवाही गरेर मृत्युसमेत हुन सक्ने जोखिममा पुर्याएको अभियोगमा मुद्दा चलाइएको छ ।

अदालतमा दर्ता गरिएको अभियोग पत्रमा उल्लेख भएअनुसार अस्पता–लका कर्मचारीले बालिका भर्ना भएपछि उनको हेमोग्लोबिनन स्तर नापेका थिए । हेमोग्लोबिन एक प्रकारको प्रोटिन हो जसले शरीरका अंगहरुमा अक्सिजन लैजाने र कार्बन डाइअक्साइड बाहिर निकाल्ने काम गर्छ । हेराल्डको रिपोर्ट अनुसार सामान्य अवस्थामा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रति डेसिलिटर हुन्छ । तर यी बालिकाको हेमोग्लोबिन स्तर केवल १.७ ग्राम प्रति डेसिलिटर थियो ।

डाक्टरहरुले यी बालिकाको जति कम हेमोग्लोबिनको स्तर यसअघि कुनै पनि बिरामीमा नदेखेको बताएका छन् । यी बालिकाकी ६ वर्षकी दिदी पनि जुम्राबाट गम्भीर संक्रमित भएको पाइएको छ । उनको हेमोग्लोबिनको स्तर पनि धेरै कम भइसकेको भए पनि बहिनीको जत्तिको खतरनाक स्तरमा भने नपुगेको डाक्टरले बताएका छन् । दुवै बालिकालाई आमाको संरक्षणबाट हटाएर उनीहरुकी हजुरआमाको संरक्षकत्वमा राखिएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १०:४५