राजपुर गाउँपालिका–७ भौवा नाका बस्ने ४० वर्षीया विमला पुन आगोमा जलेकी भए पनि उपचार खर्च नहुँदा घरमै थला परेकी छन् । करिब एक महिनाअघि घरमा आगो ताप्ने क्रममा शरीरमा आगोले पोलेको उनका आफन्त भरत घर्तीले बताए । घर्तीका अनुसार आगोबोट दुवै खुट्टा र हात पनि जलेको छ ।
घरमा कोही नहुँदा आगो ताप्ने क्रममा उनी जलेको उनको भनाइ छ । उनले भने, ‘उहाँलाई ज्वरो आएको रहेछ । त्यसैले आगो बालेर ताप्ने क्रममा जल्नु भएछ । आगो तापिरहेको बेलामा बेहोस हुनु भएछ । घरमा अरु कोही रहेनछन् । मैले पनि केही दिन अगाडिमात्र थाहा पाएँ ।’ आफूले थाहा पाएपछि मंगलबार मात्र उपचारका लागि तुलसीपरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा ल्याएको भए पनि यहाँ उपचार सम्भव नभएको बताए ।
उनले भने, ‘अस्पतालमा उपचार गर्न ल्याएका थियौँ तर यहाँ उपचार सम्भव नभएपछि बाहिर लैजानु भन्यो अस्पतालले । अब बाहिर उपचार गर्न लैजान पैसा पनि छैन । मेडिकलबाट दुखाई कम हुने औषधि ल्याएर मेरो घरमा ल्याएको छु ।’ उनका अनुसार विमलाको ८ महिनाकी छोरी छन् । उनका श्रीमान भारतमा गएको बेला सवारी दुर्घटनामा परि घाइते भएपछि मानसिक अवस्था ठिक नभएको पनि उनले बताए ।
उनले भने, ‘भौवा नाका एक त विकट ठाउँ छ । त्यसमा पनि घरमा अरु कोही नहुँदा एक महिनासम्म उपचारविना घरमै बस्न बाध्य हुनुभयो । गाउँका युवा पनि कमाउन भारततिर गएका छन् । यातायात नहुँदा साइकलबाट धौँका ल्यायौं । हामीजस्ता गरिब दुःखीले समयमै उपचार नपाएर मर्नुपर्ने अवस्था छ । देशका ठूला नेताहरुलाई राज्यले लाखौँ उपचारको लागि खर्च गर्छ तर हामीजस्ता गरिब दुःखी उपचार नपाएर यसरी बाँच्न बाध्य छौँ ।’
उनले विमलाको उपचारका लागि सहयोगको याचनासमेत गरेका छन् । उनले बच्चा पनि सानो हुँदा र उपचार गर्न बाहिर लैजानुपर्ने भएकाले पनि हेर्नका लागि अरु पनि जानुपर्ने हुँदा खर्च नभएकाले समस्या भएको पनि बताए ।
सत्यपाटी संवाददाता । दाङ