सूचनाको शक्ति - The Power Of Information

        

५० लाख कङ्गारु मार्दै अस्ट्रेलिया

अस्ट्रेलिया सरकारले यस वर्ष ५० लाख कङ्गारु मार्ने कोटा निर्धारण गरेको छ । हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले यस वर्षका लागि ५० लाख कोटा निर्धारण गरेको सीएनएनले जनाएको छ ।

अहिले अस्ट्रेलियामा कङ्गारुको सङ्ख्या तीन करोड ६५ लाख रहेको सरकारी तथ्याङ्क छ । कङ्गारुको सङ्ख्या हरेक वर्ष १० प्रतिशतभन्दा धेरैले बढ्दै आएको छ । कङ्गारु संसारमै अस्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाइन्छ ।

पपुवा न्युगिनीमा भने ३०० देखि ५०० को सङ्ख्यामा मात्रै रहेकाले कङ्गारु मार्न पाइँदैन । अस्ट्रेलियाले जग्गाधनीहरूलाई कङ्गारु मार्ने अनुमति दिँदै आएको छ । अस्ट्रेलियाले कङ्गारुको छाला र मासु बेचेर वर्षमा १३ करोड अमेरिकी डलरभन्दा धेरै आम्दानी गर्दै आएको छ ।

पशु अधिकारवादी संघसंस्थाहरुले कङ्गारु मार्ने काम पशु अधिकारविरोधी कार्य भएको भन्दै विरोध गर्दै आए पनि अस्ट्रेलिया सरकारले भने कङ्गारुको सङ्ख्या नियन्त्रणका लागि मार्नुबाहेक अरू उपाय नभएको बताउँदै आएको छ ।

बालीनाली नष्ट गर्नुका साथै अरू जनावरहरूलाई पनि मार्ने हुनाले कङ्गारु मार्नु परेको अस्ट्रेलिया सरकारको दाबी छ । अस्ट्रेलियाका धेरै ग्रामीण बस्तीमा मानिस र कङ्गारुबीच चर्को द्वन्द्व रहँदै आएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १०:०४