सूचनाको शक्ति - The Power Of Information

        

औद्योगिक सम्पत्ति दर्तामा विदेशी कम्पनी अगाडि

चालू आर्थिक वर्षको फागुनसम्म उद्योग विभागले १ खर्ब ५५ अर्ब लगानी स्वीकृत गरेकोमा विदेशी लगानीको हिस्सा १३.२६ प्रतिशतमात्र छ । फागुनसम्म २० अर्ब ५६ करोड विदेशी लगानी स्वीकृत भएको छ ।

कुल लगानीमा विदेशी कम्पनीको हिस्सा नगण्य भए पनि औद्योगिक सम्पत्ति दर्तामा भने नेपाली कम्पनीभन्दा विदेशी अगाडि देखिएका छन् ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा कुल २ हजार ३९ ट्रेडमार्क दर्ता भएका छन् । जसमा ९ सय ८४ स्वदेशी तथा १ हजार ५५ विदेशी कम्पनीले ट्रेडमार्क दर्ता गरेको तथ्यांक छ ।

यसरी लगानीमा १३ प्रतिशतमात्र हिस्सा रहेका विदेशी कम्पनीहरूको बौद्धिक सम्पत्तिमा भने ५१.७४ प्रतिशत हिस्सा देखिन्छ । यसले नेपाली भन्दा विदेशीहरू औद्योगिक बौद्धिक सम्पत्तिमा बढी संवेदनशील रहेको पुष्टि हुने वरिष्ठ अधिबक्ता गान्धी पण्डित बताउँछन् ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ०७:२५