सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

 कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार पत्र पठाएका छन् ।

‘नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मैले मलाई प्रदेश सभामा विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकोले आवश्यक व्यवस्था मिलाई दिन अनुरोध गर्दछु’ मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भनिएको छ ।

प्रदेश सभा प्रमुख सचिव जिवराज बुढाथोकीले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिन गालेका हुन् ।

गत पुस २७ गते नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माघ ६ गते विश्वसको मत लिएका शर्मालाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी २५ सांसदले विश्वासको मत दिएका थिए ।

तर राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पूरानै गठबन्धन ब्युँतिएपछि राप्रपाले माग १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो।

कर्णाली प्रदेशमा नेपाली कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक जना सांसद छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १७:५०