सूचनाको शक्ति - The Power Of Information

        

एसइईको तयारी सकियो, १४ परीक्षार्थीले जापानबाटै परीक्षा दिने

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सबै तयारी पूरा भएको बताएको छ ।

बुधबार बोर्डले आउँदो शुक्रबार १७ चैतदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस वर्ष देशभरबाट ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदैछन् ।

जसमा २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसइई परीक्षा दिँदैछन् । बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थी एसइईमा सहभागी हुनेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले जापानबाटै परीक्षा दिन लागेका हुन् । एसइई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ भने सबैभन्दा कम कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रमा पठाइसकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ११:२४