यो सत्ययुगको कथासँग सम्बन्धित छ । सत्ययुगमा दानवले लखेटेका देवताहरूलाई गुरु बृहस्पतिले मन्त्रिएर लगाइदिएको यज्ञोपवीतका कारण देवताहरूको रक्षा भएको भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धन पर्व सुरू भएको हो ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिन्छन् । व्रतबन्ध गरेका द्विजातिहरूले जनै अर्थात् यज्ञोपवित फेर्दछन् ।
सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ । द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्रजस्ता नामले पनि चिनिन्छ ।
जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलि आएको छ । उपनयन संस्कार भएका वा व्रतमा बाँधिएका व्यक्तिले जनै लगाउँछन् । यसले ब्रह्म (ईश्वर) को नजिक लान सहयोग गर्छ । जनै तीनवटा पवित्र डोरो, सूत्र वा धागोबाट बन्छ ।
यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । यसलाई देवऋण, पितृऋण र ऋषिऋण अनि सत्व, रज र तमको प्रतीक पनि मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरण र तीन आश्रमका पनि प्रतीक हुन् ।
जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकी जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा नृत्य, व्यञ्जन, चित्रकारिता, यन्त्र निर्माण आदि पर्छन् ।
जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट जस्ता रोगबाट बचाउँछ । जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ । दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ ।
मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ । कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ । जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ ।
जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ । मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । दाहिने कानमा गंगाको वास हुने भएकाले त्यसो गरिएको हो ।
जनैलाई कम्मरमाथि राख्नुपर्छ र मैलो वा अपवित्र हुन दिनुहुँदैन । जनैको एक डोरो चुँडियो वा जनै लगाएको चार महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ ।
घर वा कुलकुटुम्बमा जन्म वा मरणको सूतकपछि जनै बदल्नुपर्छ ।जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्न घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला गायत्री जप गरेर बदल्ने नियम छ ।
आजभोलि मनाइने जनैपूर्णिमालाई प्राचीनकालमा उपाकर्म भनिन्थ्यो। यो वर्षा ऋतुको पहिलो पूर्णिमामा गरिने कर्म हो । उपाकर्म वेद अध्ययन गर्नका लागि प्रारम्भ गरिने एउटा अनुष्ठान हो । यस अनुष्ठानलाई शास्त्रीय रुपमा गुरु–शिष्य मिलेर गर्ने कर्मका रुपमा व्याख्या गरिएको छ ।
यो वेद पढाउने गुरु र वेद पढ्ने शिष्यबीचको कर्म हो । पछिल्लो समयमा उपाकर्म ओझेलमा परेको छ । कताकतै मात्रै यो अनुष्ठान गरिएको पाइन्छ । अहिले उपाकर्मलाई जनैपूर्णिमा, रक्षाबन्धन भनेर एउटा सांस्कृतिक चाडको रुपमा मनाउने प्रचलन आयो ।
जनैपूर्णिमा विशेषगरी ब्राह्मण वर्गले मान्छन् । यो मुख्यतयाः वेद पढ्ने कर्म हो । जनैपूर्णिमा वेद पढ्ने उपाकर्मकै वैकल्पिक स्वरुपमा आएको चाड हो । शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ । यज्ञका निम्ति प्राचीन रुपमा मानिसले लगाइने वस्त्रलाई उत्तरीय र अधोवस्त्र भनिन्थ्यो ।
अधोवस्त्र भनेको धोती जुन शरीरको तल्लो भागमा लगाइन्छ र उत्तरीय भन्नाले माथि लगाउने वस्त्र भन्ने बुझिन्छ । शास्त्रका अनुसार उत्तरीय लगाएर मात्रै यज्ञको अनुष्ठान हुन्छ । उत्तरीय नलगाइकन व्यक्ति शून्य हुन्छ, रित्तो हुन्छ ।
यही उत्तरीयको विकल्पमा जनै अथवा यज्ञोपवितको प्रयोग हुन थालेको हो । यज्ञ लगाउन प्रयोग हुने उत्तरीयको विकल्पका रुपमा जनै लगाउन थालिएको हो । यज्ञ अनुष्ठानका लागि व्यक्ति पवित्र हुनुपर्ने भएकोले जनै लगाएको व्यक्ति त्यसको लागि तयार हुन्छ ।
जनै नलगाएको व्यक्ति अपवित्र मानिन्छ । त्यसैले पनि यज्ञ अनुष्ठान गर्दा जनैको प्रयोग अनिवार्य भयो । ब्राह्मणले उपनयन गरेपछि वेद पढ्नुपर्ने र वेद पढ्नका लागि जनै (ब्रह्मसूत्र) लगाएरै पढ्नुपर्ने हुन्छ । जनै नलगाइकन गरेको कर्म निष्फल हुन्छ ।
वेदको अध्ययन गर्न, धार्मिक अनुष्ठानका गर्न जनै अनिवार्य हुन्छ । तागाधारी जसले उपनयन वा व्रतबन्ध गरेर जनै लगाएका हुन्छन्, उनीहरुलाई गुरुले गायत्री मन्त्र दिएका हुन्छन् । मन्त्र जप्नका लागि जनै लाउनुपर्ने हुन्छ ।
अहिले पछिल्लो समयमा विभिन्न व्यवहारिक कारणले धेरै कुरा छोडे पनि जनै धारण गर्नाले मानिसलाई ‘धार्मिक अनुष्ठानसँग मेरो सम्बन्ध छ, म धार्मिक अनुष्ठान गर्नुपर्ने मान्छे हुँ, म जनै लगाएर पवित्र भएको छु,’ भन्ने स्मरण गराइरहन्छ ।
यसले मान्छेलाई सांस्कृतिक रुपमा निरन्तर अनुशासित बनाउँछ । ‘म एउटा व्रतमा बाँधिएको छु, नियममा बाँधिएको छु’ भन्ने कुरा झक्झक्याइरहन्छ । गुरुले दिएका आचरण र उपदेशहरुको स्मरण गराउँछ । जनैपूर्णिमा मुलतः धार्मिक पर्व हो । यो विशुद्ध सांस्कृतिक पर्व भने होइन ।
यसमा धार्मिक पक्ष पनि जोडिएको छ । तर अहिले सबैले त्यही किसिमले धार्मिक अनुष्ठान नगर्ने, गर्न नसक्ने हुनाले यो पर्वलाई धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा लिन सकिन्छ । रक्षाबन्धनलाई भने धार्मिकभन्दा पनि सांस्कृतिक परम्पराको रुपमा लिन सकिन्छ ।
जनैलाई वैदिक मन्त्रले मन्त्रेर त्यसमा एउटा शक्ति छ, पवित्रता छ भनेर धारण गरिन्छ । त्यस्तै रक्षाबन्धनलाई पनि वैदिक मन्त्रले मन्त्रेको हुन्छ । ब्राह्मणबाट रक्षाबन्धन बाँध्ने कुरा शास्त्रीय हो तर दिदीबहिनीले दाजुभाइलाई बाध्ने रक्षाबन्धन भने शास्त्रसँग जोडिएको देखिँदैन ।
यो शास्त्रीयभन्दा पनि सांस्कृतिक पक्ष हो । शास्त्रीय रुपमा धार्मिक कर्तव्य, सांस्कृतिक कर्तव्य र अनुशासनमा बस्नुपर्ने कर्तव्य स्मरण गराउनको लागि जनैलाई एउटा धार्मिक तथा सांस्कृतिक चिन्हको रुममा धारण गरिएको हो । प्राचीनकालमा जनैलाई द्विजायनी भनिन्थ्यो ।
द्विजायनी शब्द अपभ्रंश भएर जनै शब्द बनेकाको हो । जनैपूर्णिमा विशेषगरी यज्ञोपवित भन्ने संस्कारसँग सम्बन्धित छ । यज्ञोपवित ‘यज्ञ’ र ‘उपवित’ दुईवटा शब्दहरु जोडेर बनेको हुन्छ । यज्ञ दैविक संस्कृतिको एउटा अभिन्न अंग हो ।
जुन यज्ञ संस्कारलाई जीवनको अभिन्न अंग मान्ने र यज्ञद्वारा समाजको आध्यात्मिक र भौतिक विकास हुन्छ भन्ने मान्यता छ । वैद्धिक संस्कृतिमा यज्ञले समाजको आर्थिक, सामाजिक तथा मानसिक विकासमा मद्दत गर्ने विश्वास गरिन्छ ।
यज्ञ गर्नका लागि भावनात्मक र मनोवैज्ञानिक रुपमा मानव शरीर, मन, वुद्धि अनि इन्द्रियमा देवताको शक्तिलाई स्थापित गर्नुपर्छ । त्यसो गर्नका लागि छुट्टाछुट्टै देवताहरुको नाम लिएर मन्त्रणा गरेको धागो अर्थात् यज्ञोपवित धारण गरिन्छ ।
यज्ञोपवितलाई राम्रोसँग मन्त्रणा गर्ने, त्यसमा संस्कार स्थापित गर्ने र पुरानो यज्ञोपवित परिवर्तन गर्नेसँग सम्बन्धित मुख्य पर्व हो, जनैपूर्णिमा । त्यही मन्त्रणा गरेको उपवित लगाउने वैदिक परम्परा र विधि नै जनैपूर्णिमाको मुख्य आकर्षण हो । ज्ञानको मूल स्रोत भनेकै वेद हो ।
प्रचिनकालदेखि वेद ज्ञानको रुपमा रहँदै आएको छ । त्यही वेद अर्थात् ऋषि परम्परा हामीसम्म आइपुग्यो । हाम्रा ती वेद चलाउने गुरुहरुको सम्झना गरेर तर्पण गर्ने र, आफ्नो ऋषि परम्पराको याद गर्ने दिन भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।
त्यस्तै, तेस्रो महत्वपूर्ण पक्ष भनेको ऋषि पूजन हो । यसक्रममा हामीले आफ्नो गोत्र याद गर्दछौँ । गोत्रहरुको नाम त लिन्छौँ तर ती ऋषिहरुको वंशज, परम्परा, खानदान र उनीहरुको ज्ञानको वैभवलाई आज हामीले बिर्सिंदै गएका छौँ । त्यो गलत हो ।
किनकी हाम्रा पूर्खाहरुले दिएको ज्ञान नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । अर्को सबैभन्दा महत्वपूर्ण विषय रक्षा बन्धन हो । रक्षा बन्धन धागोमा धेरै मन्त्रहरु पढेर धारण गरिन्छ । जसले मानिसको जीवनमा रक्षा गर्छ, शक्तिशाली बनाउँछ, बाहुबल उर्जा बढ्छ भन्ने मान्यता छ ।
हिन्दु धर्मअनुसार यज्ञको जिम्मेवारी लिनेले जनै लगाउनुपर्छ । सबै व्यक्तिको लागि यो अनिवार्य हुँदैन । यज्ञ र ब्रम्ह कर्मसँग सम्बन्ध राख्नेलाई जनै अनिवार्य छ । वेदका एक लाख मन्त्र छन् भन्ने मान्यता छ ।
ती मन्त्रमध्ये चार हजार मन्त्र ज्ञान मार्गका अर्थात् परमात्मा, जीवन, जगत र चिन्तनको गहिराइमा पुगेर सबै संसार परित्याग गरी इश्वर प्राप्त गर्ने बाटोतिर हिँड्ने प्रयोजनका मन्त्रहरु हुन् भन्ने विश्वास गरिन्छ । त्यस्तै, १६ हजार मन्त्रहरु उपासना मार्गका रहेका छन् ।
जसले ईश्वरको स्तुति गरेको छ । कर्ममा प्रवृत्त भएका मन्त्रहरु ८० हजार छन् भन्ने मान्यता छ । जसमा कृषि, पशुपालन, समाज, शारीरिक उन्नती, प्रकृतिको रक्षा, हाम्रा व्यावहारिक जीवनचर्यामा आवश्यक मन्त्रहरु रहेका छन् ।
त्यही १६ हजार र ८० हजार मन्त्र पढ्न म योग्य छु भन्ने अर्थमा ९६ अंगुलको जनै लागाइन्छ । ९६ अंगुलको जनै बनाउनुको मतलब ती ९६ हजार मन्त्रहरुको भावलाई जीवनमा आत्मसाथ गर्दै जानुपर्छ भन्ने हो । बाँकी रहेको चार हजार मन्त्रको प्रयोग ज्ञान काण्डमा हुन्छ, यसमा जनैको आवश्यकता पर्दैन ।
पछि, जनै त्यागेर सन्यास रुप धारण गरी वेदान्तको अध्ययनका क्रममा लिँदा पनि हुन्छ । तीन सरा भएको जनैलाई तेब्राउँदा ९ सरा भएको एउटा धागो हुन्छ यस किसिमको धागोबाट जनै बन्छ । ९ वटा सरामा अलग–अलग देवताहरु हुन्छन् । अलग–अलग देवताहरुको पूजासहित ती देवताको शक्तिलाई प्राप्त गर्नुपर्छ भन्ने भावनाका साथ जनै लगाइन्छ ।
जनैमा ३ वटा शिखाहरु हुन्छन् । ती शिखाहरुमा सप्तगुण, रजोगुण, तमोगुण, तथा ब्रह्म, विष्णु, महेश्वर गरी ३ गुण, ३ तत्व, ३ परिस्थिति, ३ स्वभाव जस्ता अलग–अलग त्रिकोणात्मक विषयहरु समेट्ने काम ३ वटा शिखाहरुले गर्दछ । त्यसको माथि ओमकार हुन्छ जुन ओमकारले ब्रह्मको संकेत गर्दछ मूल गाँठो मूलशिखा भनिन्छ ।
त्यसले ब्रह्मतत्व अर्थात् सर्वस्व शक्तिलाई केन्द्रित गर्दछ । यसरी जनैमा धेरै देवताको आह्वान गरिने भएको हुनाले त्यो एउटा धागो मात्रै होइन संस्कार गरेर धेरै मन्त्रद्वारा मन्त्रिएर त्यसलाई देवतामय बनाइएको हुन्छ । यो नै जनै धारण गर्नुको महत्व हो ।
नेपालमा वैदिक परम्पराको संस्कार भएर पनि पश्चिमा सभ्यता र संस्कृतिको प्रभावका कारण आफ्नो घर बिर्सेर पराइको घर दौडिने एउटा गलत अभ्यास हाम्रो समुदायमा बस्योे । त्यही क्रममा हाम्रा संस्कारहरु टुट्दै जाँदा संस्कृती नै विलुप्त हुने अवस्थामा पुगेको छ । जुन ऋषिमुनिहरुले ध्यानद्वारा अलौकिक शक्ति प्राप्त गर्थे ।
साथै, मन्त्रद्वारा मानिसलाई जे भन्यो त्यही पूर्ण गरिदिने आत्मविश्वास पनि थियो । साथै शक्ति र सामथ्र्य पनि थियो । तर, त्यो आजभोलि प्राय दुर्लभ भएको छ । जुन संस्कारयुक्त जनै बनाउनुपर्ने हो त्यो नभएर धागो नै बजारबाट किनेर लगाउने र विदेशबाट आयात गरेर कृत्रिम धागोलाई जनै ठानेर लगाउने परम्परा बसेसँगै शक्ति सामथ्र्य कम हुँदै गएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं