सूचनाको शक्ति - The Power Of Information

        

मेसीले पार गरे १०० गोलको कोसेढुंगा

कप्तान लियोनल मेसीले १०० गोलको कोसेढुंगा पार गरेको खेलमा अर्जेन्टिनाले बुधबार बिहान अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुरासाओविरुद्ध ७–० को फराकिलो विजय हासिल गरेको छ ।

मेसीले २०औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । जुन मेसीको १०० औँ गोल थियो । उनले जियोभानी लो सेल्सोको पासलाई नियन्त्रणमा लिँदै विपक्षी रक्षकलाई कटाएर हानेको प्रहार कुरासाओका गोलकिपर इलोए रुमले ठम्याउन सकेनन् ।

त्यसको तीन मिनेट वित्न नपाउँदै निकोलस गोन्जालेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेसीले ३७औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए ।

यससँगै मेसीको अन्तर्राष्ट्रिय गोलसंख्या १०२ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने खेलाडीको सूचीमा मेसीभन्दा अगाडि इरानका अली दाई र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो छन् । अली दाईले १०९ र रोनाल्डोले १२२ गोल गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ०९:०१