सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौमा आजदेखि न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरु हुँदै

काठमाण्डौमा आजदेखि न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरु हुँदैछ ।

काठमाण्डौ महानगरपालिकाको समन्वयमा आज र भोलि सम्मेलन हुन लागेको हो । सम्मेलनमा काठमाण्डौ महानगरसहित ७ सय ५३ वटै पालिकाका न्यायिक समितिका संयोजक तथा सदस्यमध्ये एक–एक जना प्रतिनिधि सहभागी हुँदैछन् ।

काठमाण्डौ महानगरकी  उपमेयर एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । सम्मेलनले सबै पालिकाको न्यायिक समितिका कामलाई एकरुपता दिने लक्ष्य लिएको छ ।

आज उद्घाटन हुने सम्मेलनको दोस्रो दिन भोलि विवाद निरुपण काठमाण्डौ घोषणापत्र जारी हुनेछ । सम्मेलनमा ४ वटा मुख्य कार्यपत्रमा प्रस्तुति हुनेछ ।

पहिलो कार्यपत्र न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन विषयमा हुनेछ ।

सम्मेलनको दोस्रो प्रस्तुति न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य पालना गर्नुपर्ने प्रक्रियाका विषयमा प्रस्तुति गर्नुहुनेछ ।तेस्रो विषय स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्द्धन विषयमा हुनेछ ।

चौथो प्रस्तुति न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य पालना गर्नुपर्ने प्रक्रिया सम्बन्धी हुनेछ । सम्मेलनमा न्यायिक सञ्जाल गठन गर्ने कार्यक्रम पनि रहेको छ ।

न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने उपमेयर डंगोलले बताउनुभएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ०८:१३