सूचनाको शक्ति - The Power Of Information

        

विदेशबाट आयात हुँदा बिकेन नेपाली मह

स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७ औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि मह बिक्री हुन नसकेको बताए । उनले बिक्री नभएर नेपालमा अझै एक हजार ५०० मेट्रिक टन मह मौज्दात रहेको दाबी गरे ।

भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उनको भनाइ छ । नेपालमा वार्षिक महको खपत आठ हजार मेट्रिक टन हुँदै आएको छ । नेपालबाट आठ मेट्रिक टन मह निर्यातसमेत भएको छ ।

नेपालमा वार्षिक ३० करोड ३४ लाख बराबरको मह आयात हुँदा १६ करोड ८१ लाख रुपैयाँको मह निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ । नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताए ।

उनले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गरे । उनका अनुसार पछिल्लो चार महिनामा २०० मेट्रिक टन मह आयात भएको छ । मौरीविज्ञ डा.शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको धारणा राखे ।

मौरी र पर्यावरण विषयमा कार्यपत्र पेश गर्दै उनले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राखे ।

स्रोत : रासस
प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १५:३२