सूचनाको शक्ति - The Power Of Information

        

नयाँ पार्टी खोल्ने भीम रावलको संकेत

नेकपा एमालेका नेता भीम रावलले जनताको चाहना अनुसार आगामी कदम चाल्ने बताएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले पार्टीबाट किनारा लागाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने बताउँदै जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्न सकिने बताए ।

‘मैले देशको हितमा काम गर्दै आएको छु, पार्टीको गतिविधि विपरित काम पनि गरेको छैन,’ रावलले भने ‘तर कसै अमुख व्यक्तिका कारण मलाई किनारा लगाउन खोजिँदैछ, अहिले पनि सहेर बसेको छु तर अब यस्तै भए विकल्प सोच्न बाध्य हुनेछु ।’ उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरूले आफूलाई किनारा लगाएको आरोप लगाए ।

‘एमाले अध्यक्ष केपी ओलीसँग ८ औँ महाधिवेशनमा झलनाथ खनालले प्रतिष्पर्धा गरेर जितेका थिए, ९ औँ महाधिवेशनमा माधव नेपालले प्रतिष्पर्धा गरे केही भएन,’ रावलले भने ‘तर सुदूरपश्चिमबाट मैले प्रतिष्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिष्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अब ।’

नेता रावलले उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेटेर बस्न नदिने प्रयास भइरहेको पनि बताएका छन् । उनले एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने र यदी एमालेमै बस्न नदिने गरी घचेटिरहे आफूले पनि नयाँ कदम चाल्ने नेता रावलको भनाइ छ ।

उनले एमाले बाहेकको पार्टीको कल्पनासम्म आफूले नगरेको बताउँदै ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् । राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै उनले तर, यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १४:४१