सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् विस्तार

आकर्षक आठ मन्त्रालयमा कांग्रेसको दाबी, को–को बन्दैछन् मन्त्री ?

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबैभन्दा धेरै मन्त्रालय दाबी गरेको छ । अहिलेकै अवस्था कांग्रेसले कम्तिमा आठ मन्त्रालय पाउनुपर्ने भनिरहेको छ ।

सम्भवत् भोलि (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् विस्तारबारे ठोष निर्णय हुनेछ । सत्तारूढ दलबीच मंगलबार छलफल गरेर मन्त्रालय बाँडफाँट टुंगो लगाउने सहमति भएको छ ।

नेकपा एमालेसँग सत्ता सहयात्रा टुङ्ग्याउँदै निर्वाचन अगाडिकै गठबन्धन व्युँताउन पुगेका प्रचण्डले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका थिए । तर, दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार अन्योलमा रहेको हो ।

वर्तमान सत्ता गठबन्धनमा नौं वटा दल छन् । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिने हो भने १० दल हुन्छ । गठबन्धनमा रहेको सबै दलको आ–आफ्नै दाबी रहँदै आएको छ । त्यसैले भागबन्डामा सकस भएको हो । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबैभन्दा धेरै मन्त्रालय दाबी गरेको छ ।

अहिलेकै अवस्था कांग्रेसले कम्तिमा आठ मन्त्रालय पाउनुपर्ने भनिरहेको छ । सोही अनुसार कांग्रेसमा मन्त्रीको आकांक्षी पनि बढेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग पक्का भएको छ । सँगै कांग्रेसले आकर्षक मन्त्रालय अर्थ, रक्षा र परराष्ट्र नछोड्ने भएको छ ।

कांग्रेसबाट उपसभापति खड्का र प्रवक्ता डा.प्रकाशशरण महत दुबैले अर्थ मन्त्रालय दाबी गर्दै आएका छन् । यी दुईमध्ये एकले अर्थ र एकले परराष्ट्र मन्त्रालय पाउने सम्भावना बलियो छ । कांग्रेसबाट उपसभापति धनराज गुरूङ, नेताहरू एनपी साउद, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रदीप पौडेल, जीवन परियार लगायतको नामसमेत मन्त्रीका लागि चर्चामा छ ।

कोशीबाट सीता र डिगबहादुर मध्ये एक मन्त्री बन्ने सम्भावना बलियो देखिन्छ । मन्त्री बनेको अवस्थामा सीताले महिला बालबालीका र डिगबहादुरले श्रम मन्त्रालय पाउने कांग्रेसभित्रै चर्चा हुने गरेको छ । त्यसैगरी, साउदले रक्षा पाउने चर्चा चलेको छ । कांग्रेसमा अन्य नेता पनि मन्त्रीका लागि लबिङमा जुटेका छन् ।

संस्थापन बाहेक राष्ट्रपति रामचन्द्र पौडेल, नेता शेखर कोईराला र कृष्णप्रसाद सिटौला समूहबाट पनि मन्त्री बनाइनुपर्ने दबाब छ । विभिन्न समूहबाट तेजुलाल चौधरी, अजय चौरासिया, मोहन बस्नेत, उदयशमशेर राणा, वीरबहादुर लायर लगायतको नाम चर्चामा छ । कांग्रेसबाट को–को मन्त्री बन्ने भन्नेबारे टुंगो लागेको छैन ।

कांग्रेसले मंगलबार बिहानै केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने गरी बैठक बोलाएको छ । उक्त बैठकले आधारभूत रूपमा मन्त्रिबारे निर्णय गर्ने बुझिएको छ । कांग्रेसको बैठक बिहान बसे पनि ठोष निर्णय गर्न भने नसक्ने देखिन्छ । किनकी, भोलि अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्दै छ ।

उक्त बैठकले मात्र बाँडफाँट लगायतका विषय टंगो लगाउनेछ । गठबन्धन बैठकले भागबन्डा टुंगो लगाएपछि पाउने मन्त्रालय संख्याको आधारमा मात्र थप निर्णय गर्ने कांग्रेसको तयारी रहेको छ । सत्ता गठबन्धनमा भएको आधारभूत सहमति अनुसार कांग्रेसले सात, माओवादी केन्द्रले पाँच, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले ३–३ वटा मन्त्रालय पाउने छन् ।

त्यस्तै, सत्ता साझेदार साना दललाई भने १–१ मन्त्रालय दिने तयारी गरिएको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) र नागरिक उन्मुक्ति पार्टीसमेत सरकारमा सहभागी हुने अवस्था आए पुनः भागबन्डा गर्नुपर्ने अवस्था आउन सक्छ । गठबन्धनमा भागबन्डाको संख्याबारे आधारभूत छलफल भए पनि सांसद संख्याको आधारमा मन्त्रालय बाँडफाँड हुने सम्भावना धेरै देखिन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार २०:३६