सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जना कारागार चलान भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण तीन जना जेल चलान भएको पुष्टि गरे ।

धरौटी नबुझाएपछि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई केन्द्रीय कारागार पठाएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा पाँच हजार धरौटी तोकेका थिए ।

जिल्ला प्रशासन कार्यालय स्रोतले भने आइतवार मागिएको धरौटी तिर्न अस्वीकार गरेपछि उनीहरु जेल चलान भएका हुन् । जेल चलान भएपछि अहिले उनीहरुको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालत दर्ता गरिँदैछ । चैत ७ गते प्रचण्ड उक्त कार्यक्रमका लागि हलमा छिर्नेबित्तिकै यी तीन युवाले गरिबमारा भन्दै नाराबाजी गरेका थिए ।

ती युवाले ‘आतंककारी प्रचण्ड मुर्दावाद’को नारासमेत लगाउन भ्याएका थिए । उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए । प्रचण्डको चर्को आलोचनासहित नाराबाजी गरेपछि प्रहरीले मुख थुन्दै उनीहरुलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो ।

उनीहरुलाई नारा लगाउन नदिन प्रहरीले मुख थुनिदिएको थियो भने लछारपछार पार्दै पार्टी प्यालेसबाट बाहिर निकालेको थियो । त्यसपछि प्रचण्ड केहीबेर भाषण गरेर त्यहाँबाट बाहिरिएका थिए । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १५:४२