सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीमा नयाँ इतिहास

प्रहरीको इतिहासमै पहिलो पटक तीन महिला एआइजी

नेपाल प्रहरीको इतिहासमै एकसाथ तीनजना महिला एआइजी कार्यरत रहेको यो नै पहिलो पटक हो ।

नेपाल प्रहरीमा पहिलो पटक तीन महिला प्रहरी विशिष्ट श्रेणीमा पुगेका छन् । सोमबार बढुवा समितिले डीआइजी मीरा चौधरीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

यसअघि प्रहरी अस्पताल निर्देशकका रुपमा एआइजी डा.आशा सिंह र गत साता किरण बज्राचार्य जनपदतर्फ नै एआइजी भएका थिए । नेपाल प्रहरीको इतिहासमै एकसाथ तीनजना महिला एआइजी कार्यरत रहेको यो नै पहिलो पटक हो ।

डा.सिंह साढे तीन वर्ष पहिले नै एआइजी भएकी थिइन् । २०७६ पुस ३ गते अस्पताल प्रमुख डा.दुर्गा थापाले अवकाश पाएपछि सिंह एआइजी भएकी थिइन् । यता जनपदतर्फ भने पूजा सिंह पहिलो महिला एआइजी हुन् ।

उनलाई गत जेठमा सरकारले एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, उनले एआइजीका रुपमा एक वर्ष पनि काम गर्न पाइनन् । पूजा सिंह गत फागुन ७ गते उमेरहदका कारण अवकाश भएकी थिइन् ।

सिंहको अवकाशसँगै नेपाल प्रहरीमा पाँच एआइजी रिक्त भएको थियो । रिक्त पाँच मध्ये किरण बज्राचार्य पनि बढुवा भएकी थिइन् । उनी आफ्नो ब्याचबाट प्रहरी नेतृत्वका लागि दाबेदार समेत भइन् ।

तर सरकारले पहिलो नम्बरमा रहेको वसन्तबहादुर कुँवरलाई आइजीपी बनाएसँगै पहिलो पटक नेतृत्वमा पुग्ने उनको सम्भावना टरेको थियो । तर ३० वर्षे हटाउने प्रक्रिया सुरु भइसकेकाले उनीहरुमध्येबाटै फेरि आइजीपी बन्ने सम्भावना रहनेछ ।

अहिलेकै अवस्थामा पनि किरण र मीरा करिब दुई वर्ष प्रहरी सेवामा रहनेछन् । उनीहरु एकसाथ २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् । डीआइजीसम्म सँगसँगै बढुवा भएका उनीहरु एआइजी भने ११५ दिनको फरकमा हुने भएका हुन् ।

मीरालाई अब एकसातापछि सरकारले एआइजीमा बढुवा गर्ने निर्णय गर्नेछ । तत्कालै एआइजी बढुवा गर्नुपर्ने भएकैले यसअघि बढुवा भएका एआईजीहरुको पनि पदस्थापन हुन सकेको छैन ।

डीआइजीमै छुटे दुर्गा र किरण

किरण बज्राचार्य र मीरा चौधरीसँगै भर्ना भएका दुर्गा सिंह र किरण राणा भने डीआइजीमै रोकिएका छन् । २०५१ चैत ५ गते एकसाथ चार महिला निरीक्षकमा भर्ना भएका थिए ।

किरण र मीराभन्दा बढुवामा पछि पर्दै आएका उनीहरुले एआइजी बन्न जोड गरे पनि सरकारले वरीयता अनुसार एआइजी बढुवा गर्दा उनीहरु छुटे । गत असारमा एकसाथ १७ जना डीआइजीमा बढुवा भएका थिए । तीमध्ये १० औँ नम्बरसम्मका डीआइजीहरु एआइजी बने ।

यही ब्याचको पहिलो नम्बरमा रहेका वसन्तबहादुर कुँवर भने आइजीपी भएका छन् । एआइजी भएका दीपक थापा र टेकबहादुर तामाङ भने किरण राणा र दुर्गा सिंहभन्दा पछिल्लो ब्याचका हुन् । उनीहरु एसएसपीबाटै अगाडि लाग्दा किरण र दुर्गा भने एआइजीमा छुटेका हुन् ।

यही ब्याचका १८ जना भने अझै एसएसपी नै छन् । अब रिक्त भएका डीआइजीमा उनीहरु मध्येबाटै बढुवा हुनेछन् । बाँकी एसएसपीहरु सबै पुरुष छन् । यसअघि १७ डीआईजी बन्दा उनीहरुलाई चार महिलाले पछि पारेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १५:३१