सूचनाको शक्ति - The Power Of Information

        

लालीगुराँसले छपक्कै म्याग्दीका वनजंगल

‘म त लालीगुराँस भएँछु । वनैभरि फुलिदिन्छु–मनैभरि फुलिदिन्छु ।’ स्वरसम्राट स्व. नारायण गोपालले गाएको गीतले भनेजस्तै म्याग्दीका वनजंगल यति वेला लालीगुराँस फुलेर राताम्यै भएका छन् ।

वनैभरि फुलेका लालीगुराँसका जंगलबाट उत्तरतिर देखिने चाँदी झै टल्किने सेता हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भीडले यतिबेला म्याग्दीका जंगलमा पनि रौनक बढेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारबाट पर्यटकीय स्थल टोड्केमा आएकी रक्षा पौडेल हिमाल र लालीगुँरासलाई पृष्ठभूमि बनाएर तस्विर लिन व्यस्त थिइन् । उनीसँगै आएका साथी पनि लालीगुँरासमा रमाउँदै फोटो खिचिरहेका थिए ।

म्याग्दीका वन जंगल यतिबेला बेहुलीको सिउँदो जस्तै रंगिएका छन् । ढकमक्कै लालीगुराँस फुल्दिएपछि लेकाली पहाडमा बैँस चढेको छ । वसन्त ऋतु सुरु हुनुअगावै गुराँस फुलेपछि लेकाली क्षेत्र अहिले नवदुलही जस्तै सिँगारिएका छन् ।

फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्छ । नेपालको राष्ट्रिय फूलको मान्यता पाएको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रमा मात्रै होइन विकट जंगल र डाँडाकाँडामा पनि छुट्टै खालको रौनक छाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ । यसैगरी रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिल, भकिम्ली, टोड्के लगायत क्षेत्रमा पनि गुराँस फुलेको छ ।

वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटक पुगेर रमाउन थालेका छन् । उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित समुन्द्री सतहदेखि २ हजार ८७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा ३ हजार २१० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेको स्थानीय बताउँछन् ।

नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा मात्रै विभिन्न आठ प्रजातिका गुराँस फुल्छन् । लामो पात, झ्याम्म रुख राता फूलले जंगललाई सिंगारेको छ । अहिले गुराँसको मनमोहक दृश्य हेर्न विभिन्न जिल्लाका पर्यटक पनि म्याग्दी आएका छन् । सडकखण्ड छेउछाउमा समेत लालीगुराँस अवलोकन गर्दै यात्रा गर्न सकिन्छ ।

सुनसान बनेका यहाँका पर्यटकीय स्थलमा चहलपहल बढेको पर्यटन व्यवसायी बताउँछन् । कहिल्यै पनि वनजंगलमा नपुगेका युवायुवती पनि अहिले जंगली क्षेत्रमा पुगेका छन् । सधैँ मोबाइल र इन्टरनेटमा रमाउने युवायुवतीले प्रकृतिलाई नजिकैबाट नियाल्न र बुझ्ने अवसर पनि पाएका स्थानीय टेकबहादुर घिमिरेले बताए ।

लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवा पुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्यार्थी पनि छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका वेला लालीगुराँस फुलेको ठाउँमा गाडी र मोटरसाइकल रोकेर तस्वीर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधि पनि व्यस्त देखिन्छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १२:०५