सूचनाको शक्ति - The Power Of Information

        

‘मन्त्री बनेपछि सोह्र श्राद्धको बाहुनजस्तो भएँ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताए । उनले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुन जस्तो भएको बताए । मन्त्री किराँतीले मानिसको प्राचिन विधा गीत संगीत रहेको बताए ।

उनले भने, ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानो सानो काममा हिँड्थेँ । यतिसम्मकी मान्छेहरुको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला । ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुनजस्तो भएँ । हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु ।’

मन्त्री किराँतीले राजनीतिज्ञ र क्रान्तिकारीहरु अरुको तुलनामा झनै बढी प्रेमिल हुने बताए । उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ११:५८