बसन्त ऋतुको आगमनले रूखहरूमा पालुवा पलाएका थिए । वनभरि पलाएका पालुवाले डाँडापाखा हेर्नेका मन चंगा जस्तै हुन्थे । न्याउलीको न्याउँ न्याउँ र कोइलीको कुहुकुहुले वनजंगल डाँडापाखा गुन्जायमान थिए । जोकोहीलाई त्यो न्याउली चरी र कोइली चरीको आवाजको धुनले एकान्तमा एक्लै बहकिने गराउँछ ।
डाँडापाखा उकाली चहार्दै कोइली र न्याउलीको धुनसँगै यात्रा ओरालो तर्फ लाग्यो । अग्ला डाँडाकाँडा निहारिँदै साल र सल्लाले सुसेल्दै गरेको स्वच्छ चिसो हावालाई फोक्सोसम्म पुर्याउँदै आनन्दित महसुस गर्दै यात्रा भैरवी गाउँपालिका– १ र दुल्लुको बीचमा पर्ने नाभिस्थान खोली किनारमै पुग्यो । आँखा अनौठो दृश्यमा ठोकियो र हिँड्दै गरेको पाइला टक्क रोकियो ।
त्यो अनौठो दृश्य थियो । नेपालको एक मात्र घुमन्ते जाती राउटे समुदायको । केही राउटेहरू घर आँगन अगाडि लस्करै लागेर काठको भाडा बनाउँदै थिए । केही राउटे युवाहरू सिकार खेल्न जङ्गल जाने तयारीमा थिए भने केही महिलाहरू बाझो जमिन खनेर तोरी छर्ने सुरसार गर्दै थिए । त्यस समूहको नेतृत्व गर्दै थिए शिक्षक दम्पती लालबहादुर खत्री र दुर्गा खत्री । पहिले माटोभन्दा जङ्गललाई विश्वास गर्ने राउटे समुदाय माटोलाई बुझ्न थालेका छन् ।
जङ्गल नै प्यारो मान्ने तपाईँहरूलाई यसरी माटो खोस्रेर तोरी छर्दा कस्तो महसुस भयो ? भन्ने प्रश्नमा राउटे युवती सम्झना शाहीले भनिन्, ‘पहिले त हाम्रो पुर्खाले यस्तो गर्दैन थिए । अहिले हामीले सुरु गर्न थालेका छौँ । राम्रै महसुस भयो । सधैं एउटै ठाउँमा बस्ने भए राम्रै हो । हाम्रो समुदायको विभिन्न ठाउँमा बसाइँसराइ भइरहेको हुन्छ । यसरी परिवर्तन हुँदै गए त राम्रै हो । आफैले आफ्नै हातले उत्पादन गरेको खानेकुरा खादा स्वस्थ पनि भइँदो रहेछ भन्ने छ । त्यो खाएपछि थाह हुन्छ ।’
पहिले कृषि तर्फ ध्यान हुन्थिएन । आफ्नो पुर्खाले नगरेको पेशा आफूहरूले पनि गर्न हुन्न भन्ने पक्षमा थियौँ । तर, पछिल्लो समय त्यो कुराहरू परिवर्तन भएको छ । अहिले जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएको यो समुदाय पनि कृषिसँग जोडिने प्रयास गरेका छन् । यो प्रयास उनीहरूको दोस्रो प्रयास भएको राउटे बस्तीमा कार्यरत जोडी शिक्षिका दुर्गा खत्री बताउँछिन् । यसअघि यो समुदायका पुरुषहरूले खन्ने काम गरेका थिए । यो पटक महिलाहरूले सुरु गरेका छन् ।
‘पहिले कोदालो समाउँदै यसरी कृषितर्फ पनि चासो बढाउलान् भन्ने कल्पनासमेत गर्न सकिँदैन थियो,’ खत्रीले भनिन् । पछिल्लो समय अन्य समुदायको निकटतासँगै उनीहरूको जीवनशैली पनि फेरिँदै आएको छ । नदी किनारको छेउमा बाँझो जमिनमा तोरी लगाउने चाँजोपाँजो भने जोडी शिक्षक दुर्गा खत्रीले गर्दै थिए । अहिले राउटे बस्तीमा सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजना सञ्चालित छ । राउटे बस्तीमा राउटे समुदायका केही किशोरी महिलाहरूसँगै बाझो जमिन खन्दै तोरी छर्न सिकाउँदै थिए ।
राउटे समुदायका महिलाहरू खन्दै थिए । यो सहजीकरण गर्नेमा परियोजनामा कार्यरत जोडी शिक्षिक दुर्गा खत्री र उनका श्रीमान् लालबहादुर खत्री राउटे समुदायमा कार्यरत छन् । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएको यो समुदायलाई आफूहरूले कृषि क्षेत्रमा पनि अभ्यास गर्न थालेकोमा आफूहरू खुसी भएको शिक्षिक खत्री बताउँछिन् । जङ्गलमा फिरन्ते समुदाय यसरी परिवर्तन होला भनेर हामीले पत्याएका थिएनौँ,’ उनले भनिन्, ‘निरन्तरको प्रयास र उहाँहरूसँगको घुलमिलले अहिले थोरै भए पनि आफैँले बारी खनेर तोरी छर्नुभएको छ ।’
नयाँ कुरा सिक्न नयाँ पुस्ता आकर्षित
राउटे समुदायमा पुरानो पुस्ताभन्दा नयाँ पुस्ताले विभिन्न नयाँ काममा चासो राख्दै जान थालेका छन् । बिहीबार बाँझो जमिनमा तोरी छर्नका लागि पुरानो पुस्ताभन्दा नयाँ पुस्ता बढी आकर्षित देखिएको जोडी शिक्षिक खत्रीको भनाइ छ । ‘तोरी छर्नका लागि पुरानो पुस्ताका एक–दुई जनाले अवरोध गर्न खोज्दै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘हामीले सम्झाइबुझाइ गर्दा उहाँहरू पनि मान्नुभयो ।’ खन्न आएका महिलाहरू नै थिए । पहिले पुरुषले खनेका थिए । हिजो पुरुष बाहिर गएका थिए । सुरुबाटै सो काम पुर्खाले नगरेको हुनाले हामीलाई गर्न अप्ठ्यारो हुन्छ भन्ने थियो । यहाँभन्दा पहिले पुरुषले खनेका थिए । अहिले नयाँ पुस्तामा चासो बढ्दो छ ।
पढाइ लेखाइमा पनि चासो
जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएको यो समुदायका युवायुवतीले पढाइमा पनि चासो राख्न थालेका छन् । समुदायमै रहेर विभिन्न चित्र बनाउने र आफ्नो नामसम्म लेख्ने भएका छन् । सोझै लेखपढ भन्दा नमान्ने भएकाले चित्र बनाउने लगायत आफ्नो नाम लेख्ने भएको जोडी शिक्षक लालबहादुर खत्री बताउँछन् ।
पहिले राम्रोसँग बोल्नसम्म नजान्ने राउटेहरू अन्य समुदायको मानिसहरूसँग घुलमिल हुन नसक्ने यो समुदाय अहिले बोल्न र आफ्नो नाम लेख्न सक्ने भएको खत्रीको भनाइ छ । राउटेको ४० परिवारका १४२ जना सदस्यहरूमध्ये २२ जनाले नाम लेख्न जानेका छन् । जोडी शिक्षक लालबहादुर खत्री र दुर्गा खत्री बस्तीमा सोसेक नेपालद्वारा खटाएपछि अहिले निरन्तर सिक्ने क्रममा रहेका छन् । बिहान दिउँसो उनीहरूसँग घुलमिल हुँदै हामीले पढाउन थालेको खत्री बताउँछन् ।
सरसफाइ गर्न सिक्दै
पहिले महिनौँ हप्तौँसम्म पनि ननुहाउने, सरसफाइ नगर्ने राउटे समुदाय अहिले सरसफाइमा पनि जुट्न थालेका छन् । स्थायी रूपमा बास भए पनि आफ्नो घर आँगन लिपपोत गर्ने, वरपरको फोहोर सफा गर्ने लगायतका कार्यहरू गर्न थालेको जोडी शिक्षक खत्री बताउँछन् । बिहीबारदेखि यो समुदायले कुहिने र नकुहिने फोहोर फाल्ने डम्पिङ (खाडल) समेत बनाउन थालेको खत्री बताउँछन् ।
पछिल्लो समय सफा कोरीबाटी गरेर चिटिक्क पर्दै आफ्नो बस्तीबाट निस्केको कुहिने र नकुहिने फोहोरलाई छुट्टै खाडल बनाएर फोहोर व्यवस्थापन गर्न राउटे महिलाहरू कस्सिएका थिए । त्यसमा सहजीकरण गर्दै थिइन् अनमी अमृता रोकाया, लालबहादुर खत्री र दुर्गा खत्री । उनीहरूले एक ठाउँमा सिकेको नयाँ कुरा अर्को ठाउँमा बसाइँ सरेर जाँदा प्रायः बिर्सिने हुन्छ तर त्यो नहुने खत्रीको भनाइ छ । पहिलेभन्दा यो समुदाय अहिले परिवर्तन हुँदै नयाँ कुरा सिक्दै आइरहेको छ,’ उनले भने ।
पहिले मदिरा अत्यधिक रूपमा पिउँथे अहिले चाडबाडमा मात्र पिउने गरेको खत्रीको भनाई छ । अहिले राउटे समुदाय बाहिरको मदिरा पिउन छोडेका छन् । अहिले पहिलेजस्तै आफ्नो काममा निरन्तर लागि परेका छन् । अहिले बस्तीमा २२ जना नाम लेख्ने भएका छन्,’ उनले भने, ‘हामी भएकै ठाउँमा नाम लेख्न सिकाइदिन भन्दै आउने गर्छन् ।
मदिरा त्यागेसँगै पुनः गर्भवती
राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन । सोसेक नेपाल नामक संस्थाले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा अनुसार २०७५ साउनदेखि २०७८ मङ्सिरसम्म २६ जना शिशु जन्मिएका छन् । त्यसयता समुदायमा शिशु जन्मिएका छैनन् । त्यसयता नत बस्तीमा गर्भवती थिए नत बच्चा नै जन्मेका थिए । तर, २०७९ माघ महिना यतादेखि मदिरा पिउन कम गरेसँगै अहिले राउटे समुदायमा दुई जना महिला गर्भवती रहेको अहेव अनमी अमृता रोकाया बनाउँछिन् ।
‘पहिले अत्यधिक मात्रामा मदिरा पिएर हुन सक्छ बच्चा पनि नजन्मेका र बस्तीमा गर्भवती महिला पनि थिएनन्,’ उनले भनिन्, ‘बाहिरको मदिरा पिउन छोडेसँगै पुनः बस्तीमा महिलाहरू गर्भवती हुन थालेका छन् ।’ नाभिस्थान जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अन्य समुदायको बस्ती नजिक बसेसँगै उनीहरूको जीवनशैली पनि फेरिँदै गएको छ । प्रायः जंगलमै फिरन्ते जीवन बिताउँदै आएको र कृषि खेतीतर्फ आकर्षित नभएको राउटे समुदाय पछिल्लो समय कृषि खेती तर्फ अभ्यास गर्न थालेका छन् ।
सरकार र समाजको भूमिका के हो ?
राउटेलाई मूलप्रवाहिकरणमा ल्याउने चर्चा पनि बेलाबखत चलिरहन्छ । राउटे नेपालको पहिचान भएकाले पनि राउटेलाई उनीहरूकै परम्पराअनुसार चल्नुपर्छ भन्ने आवाजहरू पनि उठ्न थालेका छन । जङ्गलकै बीचमा भएता पनि राउटेले आफूले उत्पादन गर्ने सामग्री उत्पादन गर्न दिनुपर्छ । वास्तवमा भन्ने हो भने राउटेहरू घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको जाति हो । तसर्थ यी राउटेहरूका लागि स्थायी घर बनाइदिने र अन्य व्यवस्था मिलाउने भनेको एक मात्र घुमन्ते जातिलाई हाम्रो समाजमा समाहित गरेर विलुप्त गर्नु हो ।
राउटे अज्ञानतासँग रमाइरहेको समुदाय हो । पछिल्ला केही वर्षयता उनीहरूको जीवनशैलीमा नकारात्मक परिवर्तनहरू देखा परेका छन् । तत्कालीन सशस्त्र द्वन्द्वपछि जङ्गल छाडेर अन्य समुदायको बस्ती नजिक उनीहरू बस्न थाले । उनीहरूको परम्परागत बासस्थानहरू विकासका नाममा नास हुँदैछन् । त्यसैले अन्य समुदायको बस्ती नजिक भनौँ वा बजार क्षेत्र आसपासका बस्तीमा बस्न थालेका छन् । मदिराको लतले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ । यो मुख्य कारण हो ।
फलस्वरूप मदिराकै कारण राउटेहरू अकालमै मृत्युको मुखमा पुगेको देखिन्छ । स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको खानपान र आनीबानीले गर्दा उनीहरूको अस्तित्व सङ्कटमा परेको देखिन्छ । उनीहरूको अस्तित्व जोगाउन मुख्य कुरा मदिरा पिउनमा रोक लगाउनुपर्छ । अर्कोतर्फ जलवायु परिवर्तनले पनि राउटे समुदायलाई प्रभाव पारेको छ । पहिलो कुरा राउटेमा मदिराको लत हटाउनका लागि सरकारले स्पष्ट नीति निर्माण गर्नुपर्ने अधिकारकर्मी हिरासिंह थापा बताउँछन् ।
‘सामाजिक चेतनासँगै कुलतको असरहरू, स्वास्थ्यमा पुर्याउने हानिको बारेमा सन्देशमूलक कार्यक्रम अघि बढाउनुपर्छ,’ उनले भने, ‘उनीहरूको बासस्थान क्षेत्रमा प्रहरी प्रशासनले मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्नुपर्छ ।’ राउटे नागरिकलाई जथाभाबी मदिराजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । राउटे बस्तीसँगै जोडिएको गाउँका स्थानीयबासीलाई राउटेको पहिचान, संस्कृति र इतिहासबारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम चलाउनुपर्छ ।
नगद भत्ता दिन तत्काल बन्द गर्नुपर्छ
संघीय सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई मासिक चार हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सरकारले दिने यो सामाजिक सुरक्षा भत्ता नगद दिन तत्काल बन्द गर्नुपर्ने थापाको भनाइ छ । भत्ताको सट्टा मासिक रूपमा परिवार संख्या हेरेर कति मात्रामा चाहिन्छ खाद्यान्न, लत्ताकपडा दिन सकिन्छ,’ उनले भने, ‘उनीहरूले पाउने भत्ताबाट केही निश्चित महिनाका लागि ‘खाना शिविर’ चलाउनुपर्छ । त्यसले उनीहरूमा पोषणयुक्त खाना खाने बानीको विकास हुन्छ । यसका लागि संघीय सरकारले ठोस नीति निर्माण गर्नुपर्छ । त्यसो हुन नसके राउटे समुदायको अस्तित्व इतिहासमा मात्र सीमित हुन बेर लाग्दैन ।’
जितेन्द्र थापा । सुर्खेत