सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा चार एआइजीको पद रिक्त, को–को छन् प्रतिस्पर्धामा ?

नयाँ आइजीपी नियुक्त भएसँगै नेपाल प्रहरीमा रिक्त रहेका विशिष्ट पदहरुमा बढुवा गर्नुपर्ने दायित्व र चुनौति थपिएको छ । नेपाल प्रहरीमा शनिबारदेखि चार जना अतिरिक्त महानिरीक्षक (एआइजी) पद रिक्त भएको छ ।

तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दी रिक्त भएको हो । जसमा दाबी गर्नेको संख्या धेरै भएकाले यसपटक बढुवा गर्नुपर्ने बेलामा आईजीपी बसन्त कुँवरलाई शुरुमै असजिलो हुने अवस्था छ ।

‘पद थोरै आकांक्षी धेरै हुने भएकाले राजनीतिक दबाब र आन्तरिक दबाब दुवै झेल्नुपर्ने अवस्था छ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने । नेपाल प्रहरीमा जनपदतर्फ आठ जना एआइजीको दरबन्दी छ ।

तत्कालिन आइजीपी धिरजप्रताप सिंह सेवा अवधीका कारण प्रहरी संगठनबाट बाहिरएसँगै सरकारले बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएका एआइजी बसन्त कुँवरलाई आईजीपी नियुक्त गरेपछि उनको एआइजी पद स्वतः रिक्त भयो ।

अन्य तीन एआइजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी भने ३० वर्षे सेवा अवधिका कारण शनिबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । उनीहरुसँगै तीन डीआइजी मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियारले पनि अवकाश पाएका छन् ।

उनीहरु सबै आइजीपी धिरजप्रताप सिंहकै ब्याची हुन् । रिक्त चार एआइजीका लागि ११ डीआइजी प्रतिस्पर्धामा छन् । उनीहरु हालै एआइजीमा बढुवा भएका पाँच जनाकै ब्याची हुन् । वसन्त कुँवर र दीपक थापासँगै भर्ना भएका डीआइजीहरु एआइजीका प्रतिस्पर्धी हुन् ।

सँगै डीआइजीमा १७ जना बढुवा भए पनि सरकारले पाँच जना एआइजीमा शीर्ष वरीयतामा रहेकालाई बढुवा गरेको छ । तेस्रो नम्बरका डीआइजी अशोक सिंहले उमेर विवादका कारण राजीनामा दिइसकेका छन् । डीआइजीमा सातौँ नम्बरमा बढुवा भएका सन्दीप भण्डारीदेखि १७ औँ नम्बरकी किरण राणासम्म एआइजीका दाबेदार छन् ।

भण्डारीसँगै सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआइजीको प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये, भण्डारी, चौधरी, तामाङ, पोखरेल जोशी, गिरीबीच एआइजीका लागि मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ ।

‘एआइजीका लागि निकै ठूलो रस्साकस्सी हुँदैछ, अहिले एआइजी नहुनेहरु डिआइजीमै विदा हुनुपर्ने भएकाले पनि यस्तो अवस्था आउन लागेको हो,’ प्रहरी प्रधान कार्यालयका ती अधिकारीको दाबी छ । उता गृहसचिव विनोद सिंहले प्रहरीभित्र हुने अस्वस्थ प्रतिस्पर्धालाई हटाउन नवनियुक्त आइजीपी कुँवरलाई निर्देशन दिएका छन् । आइजीपी कुँवरलाई आइतबार मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाइदिंदै सो निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ०६:५९