सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री पुत्री गंगाले हतारमा जस लिन खोजेपछि…

गंगा दाहाल र उनको फेसबुक पोस्ट ।

प्रधानमन्त्री पुत्री एवम् स्वकीय सचिव गंगा दाहालले हतारमा जस लिन खोजेपछि चर्को आलोचना खेप्नुपरेको छ । प्रधानमन्त्री पुत्री दाहालले हतारमा जस लिनका लागि आइतवार दिउँसो एउटा फेसबुक पोस्ट हालिन् ।

जसमा भनिएको थियो, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइन जडान कार्य सम्पन्न !’ आश्चर्यको कुरो त के थियो भने प्रचण्डले गत चैत ३ गते विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई बधाई दिँदा राष्ट्रिय खेलकुद परिषद्लाई दिएको निर्देशन सातामै कार्यान्वयन हुनु ।

फ्लड लाइट जस्तो जटिल प्रविधि एक साता नबित्दै राखेप र नेपाल क्रिकेट संघले कसरी जोड्न सम्भव भयो ? गंगा दाहालको पोस्टले यस्तै अनेक प्रश्न जन्मायो । प्रधानमन्त्रीले निर्देशन दिँदैमा बजेटसमेत व्यवस्था नगरिएको योजना कसरी रातारात कार्यान्वयन भयो ? उक्त पोस्ट हालेपछि यस्तै प्रश्न उठिरहेका बेला गंगाले त्यसलाई तत्कालै हटाइन् ।

कीर्तिपुर स्टेडियममा अहिलेसम्म हुँदै नभएको कामको हतार हतार जस लिन खोजेपछि गंगाले चर्को आलोचना खेपिन् भने उक्त पोस्टलाई केहीले हाँसीमजाकको विषय बनाए । किन भने कीर्तिपुर स्टेडियममा फ्लड लाइट जडानको कुनै प्रक्रिया अहिलेसम्म अघि बढेको छैन । तर गंगाले जब आफूले कीर्तिपुर स्टेडियममा हुँदै नभएको फ्लड लाइटको फोटो फेक भएको थाहा पाइन् । तत्कालै त्यसलाई लुकाइन् ।

‘फेक फोटो’ प्रयोग गरेको थाहा पाएपछि उक्त पोस्ट हटाएकी गंगाले लगत्तै त्यही फोटो राखेर अर्को पोस्ट राख्न भ्याइन् । ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले प्रक्रिया अघि बढाएको छ,’ उनले फेरि भनिन्, ‘द्रूत गतिमा सम्पन्न भएपश्चात् रंगशाला यो आकारमा देखिनेछ ।’

उनीसँगै प्रचण्डका अर्का स्वकीय सचिव रमेश मल्लले पनि गंगाकै फेसबुक पोस्ट कपी गर्दै त्यही कुरा उल्लेख गरेका छन् । उनले पनि प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान चाँडै सक्न राखेपले द्रूत गतिमा काम अघि बढाएको जिकिर गरेका छन् । नेपालले अन्तर्राष्ट्रिय म्याचका लागि उपयोग गर्दै आएको कीर्तपुर स्टेडियममा अहिलेसम्म फ्लड लाइट जडान गरिएको छैन ।

अर्कातिर डिजिटल स्कोर बोर्डसमेत सरकारले राख्न सकेको छैन । प्याराफिट अभावमा दर्शकले टिकट काटेर पनि चौरमा बसेर क्रिकेट हेर्छन् । यसअघि गत चैत ३ गते प्रचण्डले कीर्तिपुर स्टेडियममा तत्काल फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका थिए । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार १७:०२