सूचनाको शक्ति - The Power Of Information

        

३० वर्ष पुग्नु भयो ? अब दैनिक खानुस् यस्ता खानेकुरा

स्वस्थ रहनका लागि पौष्टिक आहार महत्त्वपूर्ण हुन्छ । हिजोआज मानिसलाई कम उमेरमै अनेक रोग लाग्न थालेको छ । यसको प्रमुख कारण गलत खानपान र गलत जीवनशैली हो ।

पोषण अभावका कारण कम उमेरमै कमजोर रोग प्रतिरोधात्मक क्षमता, जोर्नी दुख्ने, हड्डी कमजोर हुने, मुटुरोग जस्ता समस्या देखिन्छ । स्वस्थ रहनका लागि हरेक उमेरमा पौष्टिक खानेकुरा प्रयोग गर्न आवश्यक छ । त्यसकारण ३० वर्ष उमेर कटिसकेपछि खानपानमा विशेष ध्यान दिनुपर्छ ।

भटमास – भटमासमा प्रोटिन प्रशस्त हुन्छ । मेटाबोलिक प्रणालीलाई स्वस्थ राख्न यो सेवन गर्नुपर्छ । भटमासमा पाइने पोषक तत्त्व हड्डी बलियो बनाउनका लागि उपयोगी हुन्छ । १०० ग्राम सोयाबिनमा ३६.५ ग्राम प्रोटिन पाइन्छ । प्रोटिनको कमी भएका व्यक्तिले भटमासको सेवन गर्नुपर्छ । दैनिक एकपटक भटमास सेवन गर्नु शरीरको लागि फाइदाजनक हुन्छ ।

ब्रोकाउली – ब्रोकाउली स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ब्रोकाउलीमा भिटामिन र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । ब्रोकाउलीले प्रोटिनको कमीलाई पनि पूरा गर्छ । यसमा ४.५ ग्राम प्रोटिन पाइन्छ । ब्रोकाउली खाँदा हड्डी बलियो हुन्छ । यसका साथै ब्रोकाउलीले रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ । नियमितरूपमा ब्रोकाउलीको सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

हरियो केराउ – पातदार तरकारीमा प्रशस्त मात्रामा प्रोटिन, आइरन र मिनरल्स पाइन्छ । तर पालुंगो, मेथी आदि भन्दा बढी प्रोटिन केराउमा पाइन्छ । यति मात्र होइन, हरियो केराउले क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, कपर, फस्फोरस आदिको कमीलाई पनि पूरा गर्छ । हरियो मटर फाइबरयुक्त खाना हो, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

माछा – मांसाहारी व्यक्तिले माछा सेवन गर्नु पनि फाइदाजनक हुन्छ । माछामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । १०० ग्राम माछामा २२ ग्राम प्रोटिन हुन्छ, जसले शरीरमा आवश्यक हर्मोन बनाउँछ । मुटु र मस्तिष्कलाई बलियो बनाउन पनि माछा खानु लाभदायक हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार ०७:४०