सूचनाको शक्ति - The Power Of Information

        

अब तुलसीपुर–नेपालगन्ज विद्युतीय गाडीमा सरर….

दाङको तुलसीपुर–नेपालगन्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।

त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सरेश हमालले सार्वजनिक यातायातका क्षेत्रमा पहिलो पटक शुक्रबारदेखि विद्युतीय गाडीले सेवा दिन थालेको जानकारी दिएका छन् । अध्यक्ष हमालका अनुसार पहिलो चरणमा तुलसीपुरदेखि नेपालगन्जसम्म सेवा प्रदान गर्नेछ ।

‘अहिले एउटा मात्रै गाडीबाट सेवा सुरुवात गरेका छौं,’ अध्यक्ष हमालले भने, ‘यात्रुको चाहना अनुसार आगामी दिनमा गाडी थप गरेर सेवा दिनेछौ ।’ १३ जना यात्रु क्षमता भएको उक्त गाडी वातावरणमैत्री छ । उक्त गाडीको भाडा ५०० रुपैयाँ तय गरिएको छ ।

प्रालिले पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो । उक्त गाडी तुलसीपुरबाट बिहान ९ बजेर ५० मिनेटमा नेपालगन्ज छुट्ने छ भने दिउँसो ३ बजे नेपालगन्जबाट फर्किनेछ । गाडी धनी विमल पौडेलले धुवामुक्त र इन्धन बचत हुने भएपछि उक्त गाडी सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

‘इन्धन बाहिरबाट आउने भएकाले महँगी बढिरहन्छ । त्यसैमा कहिलेकाहीँ झन् नपाइने समस्या हुन्छ,’ उनले भने, ‘यी समस्यालाई मध्यनजर गर्दै विद्युतीय गाडी ल्याएका छौँ ।’ व्यक्तिगत रुपमा विद्युतीय गाडी सञ्चालन भइरहे पनि सार्वजनिक गाडी भने जिल्लामा पहिलो पटक हो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतवार ०७:१४