सूचनाको शक्ति - The Power Of Information

        

नेपाली राजनीति

राजनीति नफाप्दा चर्चित नेताहरु गुप्तवासमा, पूर्व गृहमन्त्रीहरु नै गुमनाम

नेपाली राजनीतिका चर्चित नेताहरु राजनीतिक गतिविधि र सक्रियताले पुनःपूर्ववत अवस्थामा फर्किने कुनै गुञ्जायस देखिँदैन ।

नेपालको राजनीतिमा पछिल्लो समयमा केही चर्चित राजनीतिक अनुहार पछिल्लो समय गुमनाम छन् । समयक्रमले हो या उनीहरुको उपादेयता सकिएर फेरि पुनःस्थापित हुने पर्याप्त आधार समेत उनीहरुले गुमाएका छन् ।

उसो त नेपाली राजनीतिमा असम्भव केही हुँदैन भन्ने युक्ति चर्चित छ । यी आजभोलि गुमनाम भएका राजनीतिका चतुर खेलाडीहरुको फेरि कमब्याक नहोला भन्न सकिन्न । तर, हालसम्मका उनीहरु राजनीतिक गतिविधि र सक्रियताले पुनःपूर्ववत अवस्थामा फर्किने कुनै गुञ्जायस देखिँदैन ।

एकातिर घर्किँदो उमेर अवस्था र उनीहरुले अबलम्वन गरेको राजनीतिक विचारधाराले समेत उनीहरुलाई उम्कन दिने अवस्था छैन । अब पुरानै विरासत कायम हुने प्रचुर सम्भावना उनीहरुको हकमा देखिँदैन । तीमध्ये केही पात्रहरुको यहाँ चर्चा गर्ने प्रयत्न गरिएको छ । नेपालको राजनीतिमा बादल उपनामले परिचित रामबहादुर थापा कुनै नौलो नाम होइन ।

तत्कालीन जनयुद्धकालमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक सारथी हुन् बादल । तर, पछिल्लो समयमा तीनै बादल गुमनाम भएका छन् । माओवादीले सुरु गरेको जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बादल प्रचण्डकै समकक्षीका रुपमा चिनिन्थे । त्यतिबेलाका शीर्ष नेताहरुमध्ये प्रचण्डसहित मोहन वैद्य किरण, बादल, बाबुराम भट्टराई यिनैलाई नै लिइन्थ्यो ।

सोही जनयुद्धमा यी नेताहरुको आफ्नै विशिष्ट भूमिका र पृथक विशेषताको संयोजनले नै माओवादीले छोटो समयमै विद्रोेही शक्तिका रुपमा गुणात्मक फड्को मारेको थियो । यी मध्ये अधिकांश सहकर्मी अलग भइसकेका छन् तर राजनीतिक रुपमा सक्रियता कायम राखिरहेका छन् । बादलको भने पछिल्लो समय कुनै राजनीतिक भूमिका नभएको जस्तै देखिएको छ ।

जसरी प्रकृतिमा घाम लागेपछि बादल फाँट्छ अनि पानी परेपछि बादलको उपादेयता सकिन्छ । अझै भनौं बादलको महत्व पानी परुञ्जेलसम्म मात्रै रहन्छ त्यसपछि त्यसको अस्तित्व नै सकिन्छ । तथापि नया चक्रबाट प्रकृतिमा बादल बन्ने क्रम निरन्तर चलिरहन्छ । उनको जीवनमा यो प्राकृतिक नियम लागू भएन ।

माओवादीमा ओजस्बी छवी रहेका बादल माओवादीमा होउञ्जेल चर्चामा थिए । आजभोलि एमालेमा पुगेर चर्चाविहीन बनेका छन् । हिजोको उनको रजगज आज एमाले बन्दा देखिँदैन । तथापि उनी एमालेमै दिल फुकाएरै बसेका छन् । प्रचण्डप्रति उनको कुनै गुनासो छैन । सुरक्षा निकायको तालुकदार रक्षा र गृह दुई वटा मन्त्रालय सम्हालेका उनी माओवादी जनयुद्धकालमा समेत सैन्य विभागका प्रमुख थिए ।

श्रीमती नैनकला थापालाई सांसद बनाएका उनले एमालेको दशौं महाधिवेशनबाट उपाध्यक्ष भएका छन् । उनी सोही जिम्मेवारी वहन गर्दै एमालेको राजनीतिमा लागेका छन् । उनकै अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सुरु गरेको जनयुद्धलाई हिंसाको संज्ञा दिँदा समेत उनी प्रतिक्रियाविहीन देखिन्छन् । उसो त नेपाली राजनीतिम कुनै समय कहलिएका पात्रहरु आज धेरै नै गुमनाम छन् ।

कतिपय स्वेच्छाले गुमनाम भएका छन् । भने कतिपयलाई परिस्थितिले गुमनाम बनाइदिएको छ । बादलजस्तै गुमनाम भएका पात्रहरुमध्ये अर्का एमाले नेता बामदेव गौतम हुन् । उनी पनि कुनै समय नेपालको राजनीतिमा चर्चित र महत्वपूर्ण पदमा विराजमान भएका नेता थिए । तर, हाल उनी पनि गुमनाम देखिन्छन् । ललितपुरको भैंसेपाटीस्थित घरमा दिनचर्या बिताइरहेका छन् ।

नेकपा (एकता अभियान) नामक पार्टी गठन गरेका उनको राजनीतिक सक्रियता उल्लेख्य देखिँदैन । राष्ट्रियसभाका सदस्य रहेका उनी यदाकदा सदनमा झुल्किन्छन् । २०५४ सालमा एमाले विभाजन गरेका गौतम माले पुनर्गठन गर्दै त्यसको महासचिव बनेका थिए । त्यतिबेलाउनी सँग एमालेका अधिकांश नेताहरु साथमा थिए ।

त्यस्तै पटक पटक गृहमन्त्री पदमा आसिन भए तर विवादरहित रहन सकेनन् । दिवंगत शुशील कोइराला नेतृत्वको सरकारमा पछिल्लो पटक गृहमन्त्री बन्दा पुलिस चौकीमा छिर्न डर लाग्छ भनेर दिएको अभिब्यक्तिले सर्बाधिक चर्चामा पुर्यायो । उनले एक कार्यक्रममा बहालवाला गृहमन्त्रीको हैसियतमा बोल्दै गर्दा प्रहरी कार्यालयमा जान डर लाग्ने बताउँदै कतै प्रहरीले गलहत्याएर फाल्ने त होइन ? भन्ने अभिब्यक्ति निकै चर्चित बनेको थियो ।

नियमित नयाँ फण्डा गर्दै आएका गौतम आजभोलि नेपाली राजनीतिमा भूमिका विहीन जस्तै देखिएका छन् । उनको खोजी यदाकदा नेपाली सञ्चारमाध्यमले बाहेक नेपालको राजनीतिले त्यति चासो लिएको देखिँदैन । नेपालको राजनीतिमा एक संयोग नै मान्नुपर्छ यी दुवै पूर्व गृहमन्त्री नै हुन् । यस्तै पछिल्लो समय गुमनाम भएका अर्का नेता गोविन्दराज जोशी हुन् । उनी पनि नेपाली राजनीतिमा सर्वत्र ओझेलमा परेका पात्रमा पर्दछन् ।

कुनै समय नेपालको गृहमन्त्री भएर नेपाली राजनीतिमा रजगज गरेका उनी अहिले सर्वाधिक गुमनाम नेताको सूचीमा पर्दछन् । उनको राजनीतिक हैसियत समेत पार्टीविहीनताको अवस्थामा पुगेको छ । उनी जीवनभर आवद्ध नेपाली कांग्रेसबाट निष्कासित भइसकेका छन् । अघिल्लो २०७४ को निर्वाचनमा आफ्नो उम्मेदवारी खारेज भएपछि कांग्रेस भएरै अर्कै दलको उम्मेदवारलाई जिताउन लागेका थिए ।

यसपालीको निर्वाचनमा तनहुँ–१ मा स्वतन्त्र उम्मेदवारी दिएका उनले सन्तोषजनक मत ल्याए पनि निर्वाचन जित्न सकेनन् । आफ्नो राजनीतिक उत्तराधिकारी यसपालीको स्थानीय निर्वाचनमार्फत छोरालाई बनाउने प्रयत्नमा लागका थिए । छोरा दिपकराज जोशीको राजनीतिक भविष्य सुनिश्चित गर्ने दाउमा एमालेको सहयोगमा स्थानीय तहको निर्वाचनमा तनहुँबाट उम्मेदवारी दिन लगाएका थिए । तथापि मतपरिणाम उनको पक्षमा आउन सकेन ।

कुनै समय कांग्रेसको सहमहामन्त्री, २०५६ को निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री र स्थानीय विकास मन्त्री त्योभन्दा पहिले २०४८ देखि २०५१ सम्म शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्री रहेका जोशीको राजनीतिक उपादेयता सकिएर गुमनाम भएको देखिन्छ ।

पूर्वगृहमन्त्री रहिसकेका कांग्रेस नेता विजयकुमार गच्छादार पनि आजभोलि गुमनाम देखिएका छन् । उनी पनि तत्कालीन बाबुराम भट्टराइको सरकारमा गृहमन्त्री बनेका थिए । लामो समयसम्म मधेश केन्द्रित दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नामक पार्टीको नेतृत्व गरेका उनी अन्ततः पुरानै पार्टी कांग्रेसमा फर्किएका थिए ।

केही समयअघि ललिता निवास प्रकरणमा मुछिएर गुमनाम भएका उनी विशेष अदालतमा धरौटी बुझाएर सार्वजनिक भएका थिए । हाल कांग्रेसको राजनीतिमा आबद्ध रहेका उनी सुनसरी ३ बाट पराजित भए । निरन्तर विजयी हुँदै आएका गच्छादार यसपाली एमालेकी भगवती चौधरीसँग पराजित हुन पुगे ।

आजभोलि राजनीतिक रुपमा ओझेलमा परेका उनको नेपाली राजनीतिमा खासै चर्चा हुन छाडेको छ । यस्तै नेपाली राजनीतिका कुनै बेलाका चर्चित पात्र हुन् भीम रावल । यद्यपि उनको आजपर्यन्त सक्रियता कायमै छ । तर, राजनीतिक रुपमा भूमिका विहीन देखिन्छन् । कुनै समय गृह र रक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेका उनी आजभोलि आफ्नै पार्टीमा राजनीतिक भूमिकामा देखिएका छैनन् ।

एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका उनले त्यसयता पार्टीमा उचित जिम्मेवारी पाएका छैनन् । पार्टीको पदीय भूमिकामा नदेखिएपनि राष्ट्रिय राजनीतिका ज्वलन्त विषयहरुमा आफ्ना धारणा सुस्पष्ट ढंगले राख्दै आएका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सक्रियतापूर्वक अभिब्यक्ति दिइरहेका उनी राजनीतिक रुपमा एमालेमै रहे पनि कुनै जिम्मेवारीमा नरहेको आफैंले बताउँदै आएका छन् ।

एमालेको उपाध्यक्ष भइसकेका रावल आजभोलि राजनीतिक जिम्मेवारीको हिसाबले गुमनाम नै देखिएका छन् । सहकर्मी नेताहरु एमालेमै र कतिपय विभाजनपछि बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा पुग्दा उनी एमालेमै रहेका थिए । तथापि अहिले रावल एमालेको कुनै भूमिकामा छैनन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १९:०४