सूचनाको शक्ति - The Power Of Information

        

नवनियुक्त आइजिपी कुँवरलाई घुमुवाको चुनौती

नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयमा काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा फिर्ता गर्न दिएको निर्देशन केही जिल्लाका एसपीले उनी त्यहाँ हुँदासम्म पनि पालना गरेनन् ।

मधेश प्रदेश प्रहरी कार्यालयको डीआइजीको कमाण्ड सम्हाल्ना साथ गएको माघमा कुँवरले मधेश प्रदेशमा बर्षौदेखि काजमा कार्यरत घुमुवालाई दरबन्दीमा फिर्ता गर्न निर्देशन दिएका थिए । तर धनुषा, रौतहट र बारा जस्ता जिल्लामा दसौं बर्षदेखि कार्यरत घुमुवालाई काजफिर्ता गर्न जिल्लाका एसपीले अटेर गरेका थिए । कुँवर शुक्रबार आइजीपी नियुक्ति भएका छन् ।

विगतमा उनले जिल्लामा कार्यरत त्यस्ता बदनाम घुमुवालाई काजफिर्ता गराउन दिएको निर्देशन भने अझै पनि जिल्लाका प्रहरी प्रमुखहरुले कार्यान्वयन गरेका छैनन् । तस्करदेखि नदी दोहन गर्नेहरुसँग साँठगाँठ भएका र हाकिमहरुलाई खुसी पार्दै आएका ती घुमुवाहरुलाई फिर्ता गर्न एसपीहरुले नै फिर्ता गर्नबाट रोकिरहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले कोशी प्रदेशको उदयपुरमा दरबन्दी भए पनि बर्षौदेखि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बब्लु ठाकुरलाई दरबन्दीमा फिर्ता नपठाई राखेका छन् । उदयपुर दरबन्दी भएका ठाकुरलाई काज फिर्ता गर्न दुई महिनाअघि तत्कालीन डीआइजी बसन्त कुँवर (हाल आइजीपी)ले दिएको निर्देशन पनि उनले पालना नगरी उनलाई जिल्लामै घुमुवाहरुको पनि इन्चार्ज बनाएर राखेका छन् ।

सई ठाकुुरले असईमा जागिर प्रवेश गरेदेखि धनुषा छाडेका छैनन् । धनुषाका एसपी विश्वराज खड्काले तस्कर र चेक बाउन्सदेखि विभिन्न केसमा डिल गर्ने र घुमुवा खटाउने अधिकार नै उनलाई दिएका छन् । मातहतका चौकीका सईसम्म इन्चार्ज हुने ठाउँबाट समेत मासिक उठाउने काम उनले गर्दै आएको आरोप छ ।

त्यसैगरी, रौतहट जिल्ला प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ सई सुरेन्द्र साह सुडी पनि बर्षौदेखि काजमै कार्यरत छन् । बागमती प्रदेशको धादिङमा दरबन्दी भएका सुडीले रौतहट जिल्ला प्रहरी मातहतका सईसम्म दरबन्दी भएका चौकीमा सेटिङ मिलाएर खटाउने गरेका छन् । सिपाहीदेखि सईसम्म खटाउँदा उनले दररेट तोकेर लिने गरेको आरोप छ । बोर्डरका चौकीमा सिपाही हवल्दार खटाउँदा पनि उनले घुस लिने गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १८:०५