सरकारले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गरेको छ ।
जसअनुसार २०६८ को जनगणनाको तुलनामा वार्षिक जनसंख्या वृद्धिदरमा कमी आएको छ । यसअघिको जनगणनामा वार्षिक औसत जनसंख्या बृद्धिदर १ दशमलब ३५ प्रतिशत थियो भने यो पटक ० दबशमलब ९२ प्रतिशत मात्र रहेको छ ।
राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात ४८.९८ प्रतिशत र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात ५१.०२ प्रतिशत छ ।
यस्तै २ हजार ९ सय २८ लैङ्गिक तगा यौनिक अल्पसंख्यक रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । १५ देखि ५९ वर्ष उमेर समूहको संख्यामा भने यसअघिको जनगणनामा भन्दा बृद्धि भएको छ । यसअघि ५६.९६ प्रतिशत रहेकोमा यो पटक कुल जनसंख्याको ६१.९६ प्रतिशत कायम भएको छ ।
यस्तै २७.८३ प्रतिशत १४ वर्षभन्दा कम उमेर समूह र १०.२१ प्रतिशत ६० वर्ष बढी उमेर समूहको रहेको जनाइएको छ । २०६८ को जनगणनामा भन्दा यो पटक परिवार संख्या २३ प्रतिशतले बढेको छ भने परिवारको आकार भने घटेको छ ।
पछिल्लो १० वर्षमा परिवारको संख्या बढेर ६६ लाख ६६ हजार ९ सय ३७ पुगेको छ भने प्रति परिवार बसोबास गर्ने सदस्य औसतमा ४.८८ रहेकोमा यो पटक घटेर ४.३७ प्रतिशतमात्र रहेको छ । यस्तै यो पटकको जनगणनाको तथ्याङकले सबैभन्दा धेरै जनसंख्या काठमाडौ उपत्यकामा नै भएको औंल्याएको छ भने सबै भन्दा कम मनाङमा रहेको तथ्य सार्वजनिक भएको छ ।
यो संख्या काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ र मनाङमा ५ हजार ६ सय ५८ कायम गरेको छ । त्यस्त भौगोलिक क्षेत्रअनुसार कुलजनसंख्याको सबैभन्दा धेरै अर्थात ५३.३१ प्रतिशत जनसंख्या तराई, पहाडमा ४०.३१ र हिमालमा ६.०८ प्रतिशत रहको छ ।
पछिल्लो १० वर्षमा पहाड र हिमाली क्षेत्रमा घटे पनि तराई क्षेत्रमा जनसंख्या बढेको देखिन्छ । तथ्याङ्क अनुसार देशभर जम्मा ७५ लाख ५२ हजार ६६ वटा घर संरचना रहेको छ । जसमध्ये ७१.७ प्रतिशत मुख्यगरी आवासको लागि प्रयोग भएको छ ।
यस्तै आवासीय रुपमा प्रयोग भइरहेको घरको स्वामित्वमा कुल परिवार मध्ये ८६ प्रतिशत परिवार आफ्नै स्वामित्वमा रहेको घरमा बसोबास गरिरहेका छन् ।
यस्तै खानेपानीको मूख्य स्रोतको रुपमा कुल परिवारमध्ये ५७ प्रतिशतले धाराको पानी प्रयोग गर्ने गरेको र खाना पकाउन ५१ प्रतिशतले अझै दाउरा र ४४ प्रतिशतले एलपी ग्याँस प्रयोग गर्ने गरेको तथ्याङ्का उल्लेख छ । यस्तै बत्ती बाल्न बिजुली प्रयोग गर्ने परिवारको संख्यामा भने उल्लेख्य बृद्धी भएको छ ।
गत जनगणनामा ६७.३ प्रतिशत परिवार रहेकोमा यो पटक बृद्धि भएर ९२.२ प्रतिशत पुगेको छ । यस्तै कुलजनसंख्याको ३.८८ प्रतिशतले कुनै पनि साधन तथा सुविधा प्रयोग नगरेको उल्लेख छ भने ७२.९४ प्रतिशतले स्मार्ट मोबाईल फोन प्रयोग गर्ने गरेको र ३६.७२ प्रतिशत मात्र ईन्टरनेट सुविधाको पहुँचमा रहेको पाइएको छ ।
यस्तै जनगणनाको नतिजाअनुसार कुल परिवारको २३.८ प्रतिशत महिलाको नाममा घर वा जग्गा, १५ लाख ५५ हजार ९ सय ६१ परिवारबाट २१ लाख ९० हजार ५ सय ९२ जना विदेशमा रहेको तथ्यांक देखिन्छ । यो संख्यामा ३ लाख थपिएको छ ।
यस्तै कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता भएको औँल्याएको छ । गत जनगणनामा भन्दा यो पटक साक्षरता दर बढेको छ । यो पटक कूलजनसंख्याको ७६.३ प्रतिशत जनसंख्या साक्षर भएका छने भने यसअघि साक्षरता दर जम्मा ६५.९ प्रतिशत रहेको थियो ।
यस्तै १० वर्षमाथि उमेर समूहका २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ जना मध्ये १ करोड ५६ लाख ८९ हजार ७ सय ७७ अर्थात ६५.५ प्रतिशत आर्थिक रुपले सक्रिय भएको र ८२ लाख ११ हजार १२ अर्थात ३४.३ प्रतिशत निष्क्रिय रहेको जनाइएको छ ।
यस्तै १ करोड ५६ लाख ८९ हजार ७ सय ७७ मध्ये १ करोड १० लाख ३८ हजार १ सय ५ अक्सर आर्थिक रुपले सक्रिय रहेको र ती मध्ये १ करोड २ लाख ७० हजार ४ सय ४७ अर्थात ९३.०५ प्रतिशत रोजगार र ६.९५ प्रतिशत बेरोजगार रहेको तथ्याङ्कले औँल्याएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ