गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको उमेर विवादमा छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीको उमेर विवादबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै छानविन सुरु भएको हो ।
अख्तियारले छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न समेत भनेको छ । उमेर ढाँटेर सेवा प्रवेश गरेको आरोपसहित ज्ञवालीविरुद्ध फागुन १४ गते अख्तियारमा उजुरी परेको थियो । ज्ञवालीले जन्ममिति फरक पारेर सरकारी निकायलाई झुक्याएको आरोप छ ।
ज्ञवालीले बुधबार मात्रै एआइजीको दर्ज्यानी चिन्ह लगाएका हुन् । उनी प्रहरी प्रमुखका लागि लविङमा जुटेका छन् । सरकारले शुक्रबार आइजीपी नियुक्त गर्दै छ । यसअघि उमेर विवादकै कारण ज्ञवालीकै ब्याची डीआइजी अशोक सिंहले राजीनामा दिएका थिए ।
उमेर विवादकै कारण उनको बढुमा रोकिएपछि सिंह प्रहरी प्रमखुको लाइनबाट आउट भए । सरकारले प्रहरी प्रमुख छान्ने बेलैमा ज्ञवालीको पनि उमेर विवादमा छानविन सुरु भएको हो । उमेर तलमाथि गरेर जागिर खाएको पुष्टि भएमा ज्ञवालीको जागिर धरापमा पर्ने देखिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं