सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् विस्तारमा विलम्ब: हिस्सा खोज्दै कांग्रेस इतर पक्ष

सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डाको विषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसको संस्थापन इतर समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सम्मानजनक रूपमा सहभागी हुनुपर्ने निष्कर्ष निकालेको छ ।

संघ र प्रदेशको सरकारमा सहमति गर्दै मन्त्रिपरिषद् विस्तार गर्न सत्ता साझेदार चार दलका शीर्ष नेताहरू निरन्तर छलफलमा जुटेका छन् । तर उनीहरूबीच सहमति जुट्न सकेको छैन । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सरकारमा आफूले रोजेको मन्त्रालय र संख्या पाउनुपर्ने अडान राख्दै आएको छ ।

कांग्रेसले राष्ट्रपति, माओवादी केन्द्रले प्रधानमन्त्री, जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपति पाइसकेको जनाउँदै नेकपा एसले मन्त्रालय रोज्ने पालो आफ्नो भएको बताउँदै आएको छ ।

नेकपा एसले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गर्दै आएको छ । साथै कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने उक्त पार्टीको अडान छ । कांग्रेस र माओवादी भने नेकपा एसलाई दुई मन्त्रालयमा मनाउने तयारीमा छन् ।

संघ र प्रदेश सरकार प्याकेजमै सहमति गर्ने गृहकार्यमा प्रमुख चार दलका शीर्ष नेता जुटेका छन् । तर दलीय सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्न अझै केही दिन लाग्ने देखिएको छ ।

‘शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको चाहना थियो,’ निकट स्रोतले भन्यो, ‘अर्को शुक्रबार पो पुग्लाजस्तो देखिएको छ ।’ प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ०७:४६