सूचनाको शक्ति - The Power Of Information

        

घुमुवाका कारण बदनाम प्रहरी संगठन

जाँदाजाँदै आइजीपी सिंहले लगाए ‘घुमुवामाथि लगाम’

असल चालचलन भएका प्रहरीलाई मात्र सादा पोसाकमा खटाउन लागिएको छ ।

नेपाल प्रहरीमा आर्थिक अनियमितताको प्रमुख कारण घुमुवा प्रहरीको विकृतिलाई मानिन्छ । हाकिमको प्रिय घुमुवा प्रहरी सूचना संकलनका नाममा पैसा उठाउन परिचालन हुने गरेका छन् ।

घुमुवा प्रहरीका विकृति बढेको भन्दै आइजीपी धिरजप्रताप सिंहले विकृति अन्त्य गर्ने थालनी गरेका छन् । घुमुवा प्रहरीलाई लगाम लगाउने प्रक्रिया अघि बढाए सिंह बिदा हुँदैछन् । सूचना संकलनका लागि सादा पोसाकमा खटिने प्रहरीको गैरव्यावसायिक गतिविधि रोक्न नयाँ कार्यविधि बनेको छ ।

असल चालचलन भएका प्रहरीलाई मात्र सादा पोसाकमा खटाउन लागिएको छ । तत्कालीन डीआइजी टेकप्रसाद राई नेतृत्वको एक अध्ययन समितिले यस सम्बन्धि प्रतिवेदन बनाएर कार्यविधि संशोधनको सुझाव दिएको थियो । सोही आधारमा घुमुवा परिचालनलाई व्यवस्थित बनाउन लागिएको हो ।

जसमा पछिल्लो चार वर्षको ‘ट्रयाक रेकर्ड’ हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउने तयारी छ । सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ । जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी गराएर स्वीकृति लिनुपर्ने हुन्छ ।

नियमन हुने र पारदर्शिता पनि हुने भएकाले यस्तो लागू गर्न लागिएको छ । हाल कार्यालय प्रमुखले आफूनिकटका प्रहरीलाई सादा पोसाकमा खटाउने गरेका छन् । सादा पोसाकमा खटिने कर्मचारीका कारण संगठन बदनाम नहोस् भनेर यसमा सुधार थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् ।

प्रतिवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालन सम्बन्धी कार्यविधि संशोधन गरिएको छ । सादा पोसाकमा कार्यरत प्रहरीहरू पटक–पटक आफैँ अपराधमा संलग्न हुँदै आएका छन् । घुमुवा प्रहरीका कारण प्रहरी संगठन बदनाम हुँदै आएको छ । सादा पोसाकमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन विगतमा धेरैपटक प्रयास भए पनि सफल हुन सकेको छैन ।

प्रहरीका हाकिमहरूले व्यक्तिगत स्वार्थका लागि सादा पोसाकका प्रहरीलाई परिचालन गर्दै आएका छन् । सूचनासँगै आर्थिक लेनदेनमा पनि संलग्न हुने कारण सादा पोशाकका प्रहरी विवादमा पर्ने गरेका छन् । एक प्रहरी अधिकारीका अनुसार खासगरी तराईका जिल्लामा घुमुवा विकृति धेरै छ ।

कतिपय कार्यालयमा १० वर्षदेखि एउटै प्रहरी घुमुवाका रूपमा कार्यरत छन् । जहाँ सरुवा भए पनि काज मिलाएर त्यहीँ बस्ने प्रवृत्ति छ । धेरैजसो हाकिमलाई आर्थिक संकलनका लागि इमानदारभन्दा पैसा उठाउन सक्ने प्रहरी चाहिने र उनीहरूले त्यस्तै खराब संगत भएका प्रहरीलाई रोज्ने गरेका छन् ।

कतिपय अवस्थामा आइजीपीले नै तराईमा घुमुवा खटाउने गरेको स्रोत बताउँछ । त्यस्ता प्रहरीकै कारण समग्रमा प्रहरीको इन्टेलिजेन्स बदनाम हुन पुगेको हो । घुमुवालाई सुधार गरे प्रहरीको छवी पनि सुधार हुने प्रहरी अधिकारी बताउँछन् । तर, कार्यान्वायन भने निकै चुनौतीपूर्ण छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ०९:०५