सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जकाे महेन्द्र बहुमुखी क्याम्पसमा आधा पनि खसेन मत

महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएको छ ।

बुधबार विहान ८ देखि ४ बजेसम्म भएको मतदानमा एक हजार ६ सय ९२ जना विद्यार्थी सहभागी भएका छन् । चुनावमा जम्मा मतदाताको आधा पनि सहभागी भएनन् ।

पश्चिम नेपालकै ठूलो क्याम्पस महेन्द्रमा ४ हजार १ सय २२ जना मतदाता थिए । स्ववियु चुनावमा भने धेरै विद्यार्थीले चासो नदेखाएको पाइएको छ ।

चुनावमा एमालेनिकट अनेरास्ववियुका माधव खत्रीको नेतृत्वमा माओवादीसहितको नौ दलीय गठबन्धन रहेको छ । कांग्रेसनिकट नेविसंघका जीवनराज सुवेदीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीसहितको प्यानल छ ।

सभापतिमा स्वतन्त्रबाट मुकेशसिंह कुँवर, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट भावना थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका सुजन परियार सभापतिको उम्मेदवार छन् ।

आफूनिकट विद्यार्थी संगठनलाई जिताउन कांग्रेस, एमाले, माओवादी, जसपालगायत पार्टीका पूर्व विद्यार्थी नेता एवं पार्टी नेताहरु क्याम्पसमा पुगेका छन् । मतगणनाका विषयमा छलफल हुँदै छ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १८:४५