सूचनाको शक्ति - The Power Of Information

        

ओजिलले लिए खेलजीवनबाट सन्न्यास

जर्मनीका स्ट्राइकर मेसुट ओजिलले फुटबल खेलाडीको रुपमा आफ्नो व्यावसायिक करिअर अन्त्य गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन्। ३४ वर्षको उमेरमा उनले व्यावसायिक खेलजीवनको औपचारिक अन्त्य गरेका हुन्।

आर्सनलका पूर्व मिडफिल्डर तथा जर्मनीले विश्वकप जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका ओजिल टर्कीमा व्यवसायिक फुटबल खेलिरहेका थिए। उनी टर्कीको शीर्ष क्लब इस्तानबुल बसाकेसीरमा गत समरमा आवद्ध भएका थिए।तर इन्जुरी समस्याका कारण उनी क्लबबाट ८ खेलमा मात्रै मैदानमा देखिए।

प्लेमेकरका रुपमा उत्कृष्ट छवि भएका ओजिलले इन्स्टाग्राम मार्फत सन्न्यासको घोषणा गरेका हुन्। उनले भने ‘मैले आफ्नो खेलजीवनबारे सोचविचार गरेर व्यवसायिक फुटबलबाट तत्काल सन्न्यास लिने निर्णय गरेको छु।’

उनले भने ‘मैले १७ वर्ष लामो फुटबल खेलाडीको रुपमा धेरै कुराहरु प्राप्त गरेको छु। मैले पाएको यो अवसरका लागि सबैप्रति आभारी छु।’ उनले आफू आवद्व सबै क्लब, सहकर्मी तथा समर्थक र परिवार प्रति आभार ब्यक्त गरेका छन्।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १८:३४