चीनमा भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय फस्टाउन थालेको छ । ८९वाइएन.कम नामको वेबसाइट मार्फत गर्लफ्रेण्ड लिन सकिन्छ । साउथ चाइना मर्निङ पोष्टमा छापिएको समाचार अनुसार दिन हिसावले भाडामा गर्लफ्रेन्ड बनाउन पाइन्छ ।
त्यस्ता युवतीहरुले पार्टटाइम कामका रुपमा यसलाई सदुपयोग गरिरहेका छन् । चिनियाँ नयाँ वर्ष, लामो सार्वजनिक विदाका बेला गर्लफ्रेन्ड बन्नु पर्ने काम ह्वात्तै बढ्ने गरेको मुमु छद्म नाम भएकी एक युवती बताउँछिन् ।
उनले एकदिन गर्लफ्रेन्ड बनेवापत् १४५ अमेरिकी डलर र यात्रा गरेर कुनै ठाउँ जानु प¥यो भने थप शुल्क लाग्ने वताईन । चिनियाँ युवाहरूले विदाका बेला परिवारलाई भेट्न जाँदा गर्लफ्रेन्ड पनि सँगै लिएर जाने गरेका छन् ।
अभिभावले विवाहका लागि दिने दवाव कम गर्न यस्तो उपाय सुरु भएको बताइन्छ । यसरी भाडामा गर्लफ्रेन्ड बन्नेहरूले परिवार र आफन्तलाई झुक्याउन नक्कली विवाह पनि गरिदिने गरेको खुलेको छ ।
ग्रामीण क्षेत्रमा बस्ने एकल पुरूषहरूले आफ्नी पनि प्रेमिका छिन् भन्ने देखाउन भाडाकी गर्लफ्रेन्डलाई बोलाउने गरेका छन् । चीनमा पछिल्लो समय उमेर पुगेका युवाहरू विवाह नगरी बस्ने प्रवृत्ति व्यापक बनेको छ ।
एकातिर युवायुवतीहरू स्वेच्छाले विवाह नै नगरी बसिरहेका छन् भने अर्कातिर कतिपय पुरूषले विवाह गर्छुभन्दा विवाह गर्ने महिला पाउन मुस्किल छ । चीनमा लागु भएको एक सन्तान नीतिले अहिले चीनमा पुरूषभन्दा महिलाको संख्या कम छ ।
विवाह गर्न चाहँदा केटी नै नपाइने र गर्लफ्रेन्ड छ भन्ने कुराले परिवारका सदस्यका प्रश्नबाट मुक्तिसँगै सामाजिक रूपमा इज्जत बढ्ने भएपछि भाडामा गर्लफ्रेन्ड बनाउने चलन बढ्दै गएको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं