किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा स्थानीय सरकारलाई जिम्मेवार बनाउन बर्दियाका बिद्यालयहरुमा कार्यशाला सञ्चालन गरिएको छ । बिद्यालय स्तरमा किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका सवाल, समस्यालाई प्रत्यक्षरुपमा स्थानीय सरकारले बुझ्ने र यस्ता समस्यालाई समाधानका लागि जिम्मेवार हुने उद्देश्यका साथ बर्दियाका बिभिन्न पालिकाहरुका बिद्यालयहरुमा कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यशालाले बिद्यालयमा किशोर किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर सिक्ने, आवश्यक सुविधाहरु निर्माण गर्ने, महिनावारी स्वच्छता जस्ता कुराहरुमा स्थानीय निकायसंग निरन्तर समन्वय सहकार्यको बिकास गर्न सहयोगी हुने उद्देश्यले बिद्यालयमा समन्वयकारी बनाउन कार्यक्रम गरिएको बताइएको छ । कोइकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल, गेरुवा ग्रामीण जागरण संघ बर्दियाले संचालन गरेको किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना अन्तर्गत कार्यशालाले तिब्रता पाएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिकावडा नं १ स्थित सरस्वती माध्यमिक बिद्यालय, ३ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बेलुवाबज्जा, वडा नं ४ स्थित पाञ्जजन्य माध्यमिक बिद्यालय, वडा नं ६ स्थित अंशु बर्मा माध्यमिक बिद्यालय जयनगर, वडा नं ७ स्थित भानुभक्त माध्यमिक बिद्यालय, वडा नं ११ स्थित किसान माध्यमिक बिद्यालय, मधुवन नगरपालिका वडा नं ४ स्थित नेपाल राष्ट्रिय नमूना माध्यमिक बिद्यालय ढोढरी, ठाकुरबाबा नगरपालिका वडा नं ४ स्थित बबई शिशु मन्दिर, वडा नं ८ स्थित जगदम्बा माध्यमिक बिद्यालय मडेला लगायत परियोजना क्षेत्रका बिद्यालयमा कार्यशाला गरिएको हो ।
कार्यशालामा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता, किशोर किशोरी उमेरमा हुने परिवर्तन, सामाजिक भावना लगायतका बिषयमा छलफल गरिनुका साथै आगामी योजना निर्माण गरिएको प्रशिक्षक अनिता बिष्टले बताइन् । ‘बिद्यालयमा यौन तथा प्रजननका बारेमा बिद्यार्थी खुलेर कुरा गर्न हिचकिचाउँछन,’ प्रशिक्षक बिष्टले भनिन्, ‘आफ्ना कुराहरुबारे जब जानकार हुन्छन्, अनि ति कुराहरु राख्नपनि सहजहुन्छ, त्यस कारण आवश्यक जानकारी पनि यो कार्यक्रममार्फत प्रदान हुन्छ ।’

यस्तै बिद्यार्थी तथा स्थानीय तह र जिम्मेवार व्यक्तिहरुबीच भेटभाट नै नहुने भएको तथा बिद्यालयमा बिद्यार्थीले सामना गर्ने समस्या जस्ता कुराहरु नेतृत्व तहलाई जानकारी दिने माध्यमका रुपमा पनि कार्यक्रमले सहयोग पुग्ने संस्थाले जनाएको छ । बिद्यालयमा रहेका समस्याहरुलाई कार्यक्रममा उपस्थित भएका जिम्मेवार व्यक्तिहरुलाई जानकारी गराउने, किशोरी किशोरी उमेरमा देखा पर्ने परिवर्तन, बिद्यालयमा स्वच्छतासंग सम्बन्धित संरचना, हुने गरेका गतिबिधिलाई दिगो बनाउन सरोकारवालाको प्रतिबद्धता पनि आउने गरेको प्रशिक्षक बिष्टले जानकारी दिइन् ।
बिद्यालय तथा सरोकार राख्ने व्यक्तिबीचको सम्बन्ध कायम गर्न र बिद्यालयमा किशोर किशोरीमैत्री भूमिका निर्वाह गर्न परियोजनाले सरोकारवालाई पनि सक्रिय बनाउन खोजेको संघका परियोजना संयोजक रामरुप कौशलले बताए । सञ्चालन भएको दुई दिने कार्यशालामा वडाअध्यक्ष, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्ष र बिद्यार्थीहरुको उपस्थिति गराइएको संघका फिल्ड सुपरभाइजर प्रमोद कुमार थापाले बताए ।

परियोजना अन्तर्गत बिद्यालयमा महिनावारी कक्ष निर्माण, किशोर किशोरी यौन तथा प्रजनन सूचना कक्ष निर्माण, अपाङ्गमैत्री शौचालय निर्माण र शौचालयको सरसफाई जस्ता गतिबिधि संचालन गर्ने गरिएको छ । यसका साथै संघले परियोजनामार्फत स्वास्थ्य संस्थालाई किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यमैत्री बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि, आवश्यक सहयोग तथा समन्वय जस्ता कार्य गर्दै आएको छ ।
समुदायमा यौन तथा प्रजनन समस्याका बिषयमा खुलेर कुरा गर्न नसकेकै कारण यौन तथा प्रजनन स्वास्थ्यका समस्या बढ्दै गएको छ । स्वास्थ्य संस्थाहरुमा पनि यस बारेमा आवश्यक परामर्श लिन चाहनेले सही र उचित सल्लाह नपाएको अवस्था पनि बिद्यमान छ । परियोजनाले समुदायका यस्ता तमाम समस्याहरु सहजै सम्बन्धित ठाउँमा पुगोस र उचित रुपमा सम्बोधन हुने वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गरिरहेको छ ।
सत्यपाटी संवाददाता । बर्दिया